aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

यो वर्ष धान उत्पादन घट्ने, वार्षिक डेढ खर्बको उत्पादन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
यो वर्ष धान उत्पादन घट्ने, वार्षिक डेढ खर्बको उत्पादन

काठमाडौं । १५ असारमा विविध कार्यक्रम गरी देशभर राष्ट्रिय धान दिवस मनाइएको छ । तर, समयमै मनसुन नहुँदा यो वर्ष धानखेतीको उर्वर भूमि तराईमा रोपाइँले गति लिन भने सकेको छैन । कृषि विभागका अनुसार तराईमा आइतबारसम्म ११ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै रोपाइँको क्षेत्रफल कम भएको हिमाली क्षेत्रमा ३९ प्रतिशत र पहाडमा २२ प्रतिशत रोपाइँ सकिएको छ ।

विगत वर्षदेखि नै आकासेपानीमा निर्भर भएकाले यो वर्ष किसानले समयमै रोपाइँ सुरु गर्न नसकेको विभागको भनाइ छ । सरकारले सिँचाइको पूर्वाधार विस्तार गर्न नसक्दा धानखेती हुनेमध्ये करिब ३० प्रतिशत भूभाग मात्र सिञ्चित क्षेत्रफलमा पर्छ । धानविज्ञ भोलामानसिंह बस्नेत सरकारले सिँचाइ सुविधा विस्तार नगर्दासम्म धानको उत्पादनमा ढुक्क हुन सकिने अवस्था नआउने बताउँछन् ।

‘कुन वर्ष कति धान उत्पादन हुन्छ भन्ने कुरामा सरकारको हात हुने गरेको छैन, पानी पर्‍यो भने धान बढी फल्ने र पानी कम परे धान कम फल्ने गर्छ,’ उनले भने, ‘देशको प्रमुख कृषिउपज धानका लागि सिँचाइ पूर्वाधार पुर्‍याउन सरकार अहिलेसम्म सफल हुन सकेको छैन ।’ धानमा भएको उत्पादन वृद्धिले गर्दा देशको आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पर्दै आएको छ ।

चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन भएको सरकारी तथ्यांक छ । यो इतिहासकै सबैभन्दा बढी धान उत्पादन हो । धान उत्पादन बढेकै कारण सरकारले चालू आवमा ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सकेको हो । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान २७ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा धानको योगदान सबैभन्दा बढी २० प्रतिशत छ ।

नेपालको मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा धानखेती हुँदै आएको छ । मौसमको आधारमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र हिउँदे धानका रूपमा धानखेती हुने गरेको छ । खेती हुने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धानखेती गरिन्छ । यो भनेको करिब १५ लाख हेक्टर हो । 

देशभर करिब ३० लाख हेक्टर खेतीयोग्य जमिन छ ।  क्षेत्रफल र उत्पादनका हिसाबले तराईमा ७० प्रतिशतभन्दा बढी धान उत्पादन हुन्छ । नेपालमा वार्षिक करिब १.५ खर्ब रुपैयाँबराबरको धान तथा यसका उत्पादनहरू प्राप्त हुने गरेको कृषि विभागका निमिक्त महानिर्देशक सूर्यप्रसाद पौडेलले जानकारी दिए ।

चालू आवमा ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन हुँदा क्षेत्रफलसमेत १.५ प्रतिशतले वृद्धि हुन गई १४ लाख ९१ हजार हेक्टर कायम भएको थियो । यो वर्ष भने मनसुन सुरु हुन ढिला भएको छ, जसकारण उत्पादन घट्न सक्ने प्रक्षेपण गरिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस