
एजेन्सी। चिनियाँ युवा व्यवसायी तथा चर्चित एप टिकटकका संस्थापक एवं बाइटडान्सका मालिक झाङ यिमिंग अमेरिकी लगायत विश्वका धेरै सञ्चार माध्यममा नाम आइरहने व्यक्ति हुन्। तर, उनलाई अब भने टिकटकको प्रमुख कार्यकारी अधिकृतको सर्वोच्च जिम्मेवारीबाट हटाइएको छ। झाङले कम्पनीको वेबसाइटमा पोस्ट गरेको बाइटडन्सका कर्मचारीहरूलाई लेखेको पत्रमा उनले जिम्मेवारीबाट मुक्त भएको खुलासा गरेका छन्।
अब झाङका सह-संस्थापक तथा मानव संसाधन प्रमुख लिआंग रुबोले बाइटडान्सको नेतृत्व सम्हाल्ने छन्। तर, अझै यो स्पष्ट छैन कि झाङ कम्पनीको बोर्डमा अध्यक्षको रूपमा रहिरहन्छन् वा त्यो जिम्मेवारीबाट समेत बाहिरिने छन् ।
चिनियाँ नियामकहरूले ३० वटा भन्दा बढी आन्तरिक इन्टरनेट कम्पनीहरूलाई एउटा कडा आदेश दिएपछि उनको यो कदम बाहिर आएको हो। सो आदेशमा बाइटडान्स लगायतले प्रतिस्पर्धा र उपभोक्ता संरक्षणलाई नियन्त्रण गर्ने थप कडा नियमहरूको पालना गर्न भनिएको थियो। स्मरण रहोस्, बेइजिङले टेक क्र्याकडाउनलाई जारी राखेको छ र आर्थिक नियन्त्रणको मुद्दालाई पछिल्ला दिनहरूमा निकै कडाइका साथ हेर्ने गरेको छ।
एक कार्यकारी अधिकृतको रूपमा झाङ चिनियाँ कम्पनीहरूको कडा श्रेणीबद्ध संरचनालाई अस्वीकार गर्ने व्यक्ति थिए। उनी श्रमिकहरूलाई साझा समस्याहरूको समाधानका लागि काम गर्ने साझेदारको रूपमा लिने गर्थे।
विश्व नै उसको प्रस्थानको अवस्थाबारे सोच मग्न भएको छ। फाइनान्सियल टाइम्सले आफ्नो समाचारमा के अनुमान गरेको छ भने ३८ वर्षीय झाङको पनि बेइजिङले त्यही अवस्था पार्न सक्छ जस्तो अलीबाबाका संस्थापक ज्याक माको पारेको छ। झाङलाई पहिले देखि नै अलिबाबा मालिक ज्याक मा सँग तुलना गर्ने गरिएको थियो।
झाङले लगभग १० वर्ष पहिले बाइटडान्स स्थापना गरेका हुन्। कम्पनीले आइपिओ खोल्ने चर्चा चलिरहेका बेला उनको बहिर्गमन भएको छ। उनको कम्पनीको बजार मूल्य अहिले लगभग २०० अर्व डलर निर्धारण गरिएको छ। यो दुनियाँको सबैभन्दा उच्च मूल्य भएको निजी स्टार्टअप कम्पनी भएको बताइन्छ।
आफ्ना कर्मचारीलाई लेखेको पत्रमा झाङले आफ्नो कलेजको रूममेटलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेको विषयमा ठट्टा गर्दै लेखेका छन् : "म कुनै सामाजिक प्राणी होइन, अनलाइन रहन, पढ्न, सङ्गीत सुन्ने गर्दिन। के हुन सक्छ भन्ने कुरामा सोचविचार गर्ने र एक्लो क्रियाकलापलाई प्राथमिकता दिन्छु।"
उनको सफलताको बाबजुद झाङ कहिल्यै देशभक्त चिनियाँहरूमा लोकप्रिय थिएनन्। उनले पश्चिममा सफल हुन कम्पनीको "चिनियाँ पहिचान" त्याग्न खोजेको देखिन्छ। न्युयोर्क टाइम्सले बाइटडान्स चीनको एक मात्र "वास्तविक विश्वव्यापी" कम्पनी भनेको छ।
प्रतिक्रिया दिनुहोस