
सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरिपरि रहेका उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरीम आदेश दिएको छ।
आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले लुम्बिनी क्षेत्र वरपर कुनै पनि उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरीम आदेश दिएको हो।
जनहित संरक्षण मञ्चका अध्यक्ष प्रकाशमणी शर्माले गएको चैतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
औद्योगिक प्रवर्द्धन बोर्डले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरपर उद्योग कलकारखाना खोल्न नपाइने भन्दै बनाएको नियमलाई उल्लंघन गरेका गोयन्का सिमेन्ट , सिद्धार्थ सिमेन्ट , कैलाश सिमेन्ट , श्रीराम सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट र श्याम प्लाइउडका नाममा पनि सर्वोच्चले अन्तरीम आदेश जारी गरेको हो।
रिटमा उनीहरूलाई विपक्षी बनाइएको थियो। उनीहरू सबैले आफ्नो कारखाना लुम्बिनी क्षेत्रबाट हटाउनुपर्नेछ।
सरकारको नियम उलंघन गर्दै लुम्बिनी क्षेत्रमा उद्योग कलकारखाना खुलेपछि प्रदुषण बढेको र त्यसले ऐतिहासिक सम्पदामा क्षति पुगेको शर्माको रिटमा उल्लेख थियो। विश्वसम्पदा सूचीमा परेको लुम्बिनी क्षेत्रको संरक्षणका लागि पनि त्यहाँ उद्योग कलकारखाना बन्द हुनुपर्ने उनको जिकिर थियो।
भगवान गौतम बुद्धको जन्मस्थल दर्शनका लागि विश्वका बौद्ध धर्मालम्बीहरू लुम्बिनी आउने गर्छन्।
प्रतिक्रिया दिनुहोस