aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना उत्पत्ति सम्बन्धी अमेरिकी गुप्तचरको नयाँ रिपोर्ट, वुहानका वैज्ञानिक सबैभन्दा पहिले बिरामी परेको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
कोरोना उत्पत्ति सम्बन्धी अमेरिकी गुप्तचरको नयाँ रिपोर्ट, वुहानका वैज्ञानिक सबैभन्दा पहिले बिरामी परेको खुलासा

एजेन्सी। एक अमेरिकी खुफिया एजेन्सी आफ्नो रिपोर्टमा कोरोना भाइरसको उदगम स्थल चीनको वुहानका ल्याबमा काम गर्ने तीन जना अनुसन्धानकर्ताहरू कोरोना महामारी संसारमा फैलनु भन्दा  एक महिना अघि नै बिरामी परेको दाबी गरेको छ।

वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता नोभेम्बर २०१९ मा बिरामी परे। र, अस्पतालको सहयोग मागे। अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले आफ्नो समाचारमा लेखेको छ।

यस खुफिया रिपोर्टमा वुहान ल्याबका बिरामी अन्वेषकहरूको सङ्ख्या तिनीहरू अस्पताल गएको समय आदी सम्बन्धमा विस्तृत जानकारी समावेश गरिएको छ।

के विश्वास गरिएको छ भने गुप्तचरको प्रतिवेदनमा रहेको जानकारीले कोरोना भाइरस कुनै ल्याबबाट बाहिरिएको हो भन्ने दाबीको छानबिनलाई जोड दिनेछ। कोरोना भाइरस वुहान ल्याबबाट फैलिएको हो भन्ने शङ्का पहिले देखि नै गरिँदै आएको छ।

विश्व स्वास्थ्य सङ्गठनको बैठकभन्दा एक दिन अघि उक्त रिपोर्ट आएको हो। जसमा डब्ल्यूएचओले कोरोना भाइरसको उत्पत्ति सम्बन्धी अनुसन्धानको अर्को चरणमा छलफल गर्ने अपेक्षा गरिएको छ।

अमेरिकी सुरक्षा परिषद्का प्रवक्ताले वाल स्ट्रिट जर्नलको समाचारमा टिप्पणी गर्न नमानेको बीबीसीले उल्लेख गरेको छ। तर, वाईडेन प्रशासन 'कोरोना भाइरसको उत्पत्तिको बारेमा छानबिन गर्न गम्भीर रहेको कुरा भने अधिकारीहरूले स्वीकारेका छन्। 

यसभन्दा अघि विश्व स्वास्थ्य सङ्गठनको एक समूह वुहानमा महामारी सम्बन्धी तथ्य पत्ता लगाउन गएको थियो। यद्यपि डब्लुएचओले भनेको छ कि कोरोना भाइरस वुहानको प्रयोगशालाबाट संसारमा फैलियो भन्ने प्रमाणित गर्न पर्याप्त तथ्य छैन।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई 'चिनियाँ भाइरस' र 'वुहान भाइरस' भनेका थिए। चीनले यसप्रति कडा आपत्ति जनाएको थियो।

चीनले विश्व स्वास्थ्य सङ्गठन टोलीलाई अनुसन्धानमा पूर्ण सहयोग नगरेको र वुहान प्रयोगशाला सम्बन्धी जानकारी लुकाएको आरोप पनि लगाइएको छ।

 

प्रतिक्रिया दिनुहोस