
संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको हेयाङ्लामा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ।
जिल्ला प्रहरी कार्यालयबाट गस्ती गएको टोली र विप्लव समूहबीच सोमबार बिहान गोली हानाहान भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए।
घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा हो। त्यहाँ मोबाइल सम्पर्कसमेत हुन नसकिरहेको उनले बताए।
विप्लव समूहका गतिविधि बढेको जानकारी पाएपछि प्रहरी टोली गस्तीमा गएको थियो। दुबैतर्फ कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।
गोली हानाहान भएको पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिम लामाले गरे भने, ‘सिलिचोङमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको खबर प्राप्त भएको छ । घटनाको जानकारी पाएपछि जिल्ला र नजिकको पोस्टबाट पनि थप बल त्यसतर्फ पठाएका छौँ ।’
त्यहाँ झन्डै २५ जनाको संख्यामा विप्लवका कार्यकर्ता थिए। प्रहरीलाई देखेपछि उनीहरूले फायरिङ गरेको जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुसारमा सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका–१, होयङ्मामा गोली हानाहान भएको हो ।
प्रतिक्रिया दिनुहोस