
काठमाडाैं । साझा यातायातले बत्तीस कराेड रूपैयाँ प्राप्त गरेकाे छ । साझा यातायातलाई बिजुली बस खरिदका लागि प्रदेश तीन सरकार र ललितपुर महानगरले रकम हस्तान्तरण गरेका हुन्। प्रदेश ३ सरकारले ३० करोड रुपैयाँ र ललितपुर महानगरले साढे २ करोड रुपैयाँको चेक साझालाई हस्तान्तरण गरे।
राजधानीमा आयोजित एक कार्यक्रममा बिजुली बस खरिद गर्नेगरी प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, ललितपुरका मेयर चिरिबाबु महर्जन र साझाका अध्यक्ष कनकमणि दीक्षितबीच सम्झौता भएको छ।
बिजुली बसका लागि काठमाडौं महानगरले १० करोड र साझा सहकारीले साढे २ करोड गरी कुल ४५ करोड लगानी गर्ने सहमति भएको छ।
२०७६ सालभित्रै बिजुली बस सञ्चालन गर्ने योजना रहेको साझा यातायातले जनाएको छ। भविष्यको आवश्यकतालाई महसुस गर्दै प्रदेश ३ सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न लागेको मुख्य मन्त्री डोरमणि पौडेलले बताए। अब ल्याइने बस धेरैजसो उपत्यकामा सञ्चालन हुने उनले जानकारी दिए।
४५ करोड रुपैयाँमा करिब ३० वटा बिजुली बस आउने अनुमान गर्दै, २० वटा बस काठमाडौंमा र अरू बस सडक राम्रो भएको हेटौंडा–नारायणगढ खण्डमा सञ्चालन गर्ने पौडेलकाे याेजना रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस