aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

राष्ट्रपति र प्रधानमन्त्री सेनाको कब्जामा, मालीमा सैन्य 'कू'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
राष्ट्रपति र प्रधानमन्त्री सेनाको कब्जामा, मालीमा सैन्य 'कू'

एजेन्सी। मालीमा एक वर्ष भित्र दोस्रो पटक राज्य विप्लवको सम्भावना देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार त्यहाँ सेनाले राष्ट्रपति बहन नाडाव र प्रधानमन्त्री मोक्तर ओयनीलाई हिरासतमा लिएको छ।

पश्चिम अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसङ्घीय मिसनले यस कदमको आलोचना गरेको छ र दुवै नेताहरूलाई तुरुन्त रिहाइ गर्न अपिल गरेको छ। सैनिकहरूले राष्ट्रपति नाडाव, प्रधानमन्त्री ओयनीलाई पक्राउ गरेर राजधानीको नजिकै रहेको सैनिक शिविरमा लगेका छन्।

रिपोर्टका अनुसार रक्षा मन्त्रीलाई पनि पक्राउ गरिएको छ। यहाँ एक वर्षमा दोस्रो पटक सैनिक 'कू' को सम्भावना बढेको छ । सोमबार साँझ ओयेनीले एएफपीलाई फोनमा भने कि सैनिकहरू उनीहरूलाई लिन आउँदै छन्। समाचार एजेन्सीका अनुसार त्यसपछि फोन काटिएको थियो।

अफ्रिकी सङ्घ, पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय, युरोपियन युनियन र अमेरिकाले यस घटनाको भर्त्सना गरेका छन्। मालीका शीर्ष नेताहरूलाई बिना सर्त रिहा गर्नुपर्ने उनीहरूको माग छ।

सरकार बदलिएपछि कारबाही 

मालीको सरकारमा भएको फेरबदलको केही घण्टामै त्यहाँको राजनीतिक नेतृत्वलाई हिरासतमा लिएको खबर आएको हो।  यस फेरबदलमा गत वर्ष सत्तामा सामेल भएका दुई वरिष्ठ सैन्य अधिकारीहरूलाई सरकारबाट हटाइएको थियो ।

नौ महिना अघि त्यहाँ सैनिक 'कू' भएको थियो जसमा राष्ट्रपति इब्राहिम बुबकर कैटालाई हटाइएको थियो। त्यो बेला मालीका धेरै मानिसहरू खुसी थिए । यस्तो अवस्थामा अब यो देश फेरि अस्थिरता फसेको देखिन्छ। तर अन्तरिम सरकारले सुधार ल्याउने प्रतिबद्धता पूरा गर्नमा गरेको ढिलाइ र सेनाले शासनमा बढी हस्तक्षेप गरेकोमा त्यहाँका जनता क्रोधित छन्।

प्रतिक्रिया दिनुहोस