aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अर्थतन्त्र केन्द्रित 'नयाँ शीतयुद्ध' अमेरिकाकै लागी बन्दै छ घातक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
अर्थतन्त्र केन्द्रित 'नयाँ शीतयुद्ध' अमेरिकाकै लागी बन्दै छ घातक

अमेरिकी राष्ट्रपति जो वाईडेनले केही अघि त्यहाँको संसद्को संयुक्त सभालाई सम्बोधन गर्दै भने, 'अमेरिका चीनसँग प्रतिस्पर्धामा छ। यसले अब २१ औँ शताब्दी जित्नु छ।' अमेरिकी सरकारले यसअघि डोनाल्ड ट्रम्पको नेतृत्वमा हुँदा नै रुस र चीनमा अनेकौँ प्रतिबन्ध लगाएको थियो। अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले चीनको विरुद्ध एक नयाँ शीतयुद्धको घोषणा नै गरे। 

पोम्पीओले रिकर्ड निक्सन लाइब्रेरीमा एक भाषण दिँदै भने कि निक्सनको चर्चित चीन भ्रमण गल्ती थियो। उनले अमेरिकाले चीनको कम्युनिस्ट पार्टीलाई उखाल्नु पर्ने बताए । अहिले एन्टनी ब्लिंकन नेतृत्वको विदेश मन्त्रालयले पनि थुप्रै आक्रामक नीतिहरू जारी राखेको छ। र, चीनलाई नरसंहारको आरोप लगाउँदै आएको छ । त्यसै गरी अमेरिकाको ट्रेजरी विभागले रसिया विरुद्ध पनि धेरै नयाँ प्रतिवन्धहरु लगाएको छ।

अमेरिकाले चाल्दै आएका यी सबै कदमहरूले विश्वमा नयाँ शीत युद्धको प्रारम्भ गरेको छ।  तर, यो नयाँ शीत युद्ध पहिलेको झैँ विचार र सिद्धान्तको नभएर आर्थिक विषयसँग सम्बन्धित छ। त्यसैले यो आलेखमा कसरी नयाँ शीत युद्ध (न्यु कोल्ड वार) अघि बढिरहेको छ भन्ने बारे चर्चा गरिएको छ।  

संयुक्त राज्य अमेरिका विश्वमा एक मात्र प्रमुख शक्ति बन्न अहिले फेरी कोसिस गरिरहेको छ। त्यसैले नयाँ शीतयुद्धलाई कायम राख्न चाहन्छ। अनि त्यसको लागि  सैन्य बजेट बढाउन हालका राष्ट्रपति जो वाईडेन तयार छन्। अमेरिकाले सन् २०२२ को लागि ७५३ अर्व डलर रक्षा बजेट प्रस्ताव गरेको छ।  वाईडेनले यसरी इतिहास कै सर्वाधिक ठुलो रक्षा बजेट प्रस्ताव गरेबाट उनी निकै घातक युद्धको लागि समेत तयार रहेको स्पष्ट भएको छ। 

यसैले एकातिर उनले ट्रम्प प्रशासनको राष्ट्रवादी व्यापार नीतिलाई निरन्तरता दिइरहेका छन्। उनी रसिया र चीनको विरुद्ध शीतयुद्धलाई अझ घनिभूत पार्दै छन्। उनलाई के विश्वास छ भने कुनै बहानामा यी मुलुक विरुद्ध आर्थिक प्रतिबन्ध लगायो भने यिनीहरूको क्षमता कमजोर हुन्छ र त्यसले गर्दा ती मुलुकहरूको पतन हुन्छ।

तर, अहिले वास्तविकता उनीहरूले सोचेजस्तो छैन। अमेरिकाको अर्थव्यवस्था समस्यामा पर्दै छ। चर्चित अमेरिकी अर्थशास्त्री प्रोफेसर माइकल हट्सनले हालै एक अन्तर्वार्तामा भनेका छन् - जब कोभिडको समस्या केही कम हुन्छ र हामी अन्य कुरामा ध्यान दिन थाल्छौँ त्यस बेला न्यूयोर्क सहरमा मात्र थप ५० हजार मानिसहरू बसिरहेको घरको किस्ता तिर्न नसकेर सडक पेटी वा सबेमा सुत्न बाध्य हुनेछन्। आगामी अक्टोबर महिनासम्ममा त्यस्तो स्थिति आउने उनको दाबी छ। 

अमेरिकामा उद्योग, कारखाना र उत्पादनका साधनहरूमा लगानी गर्ने कम्पनीहरूले समेत यसबिच पैसा कमाउँदैनन्। यदि कुनै कम्पनीले नाफा कमाए पनि अमेरिकामा कर्पोरेट आम्दानीको ९० प्रतिशत शेयर बायब्याक र लाभांश भुक्तानीमा खर्च गरिन्छ। त्यहाँ नयाँ उत्पादनजन्य क्षेत्रमा लगानी गर्ने गरिँदैन।यही कारणले अमेरिकामा नयाँ निजी लगानी आउने सम्भावना कम छ जसले उत्पादनमा केही वृद्धि गर्थ्यो। 

यो सबै सत्यलाई ढाकछोप गर्ने अहिले अमेरिकी सरकार चीनलाई दोष दिँदै आएको छ र भन्ने गर्छ कि अमेरिकी अर्थतन्त्रमा देखिएको समस्याको कारक चीन हो।  

उता चीन भने अमेरिका किन र कसरी समस्यामा पर्‍यो भन्ने बुझेर ती गल्ती दोहोर्‍याउने पक्षमा छैन। त्यसैले अत्यधिक वित्तीयकरणबाट बच्न निजीकरणलाई कमजोर पार्दै छ। अमेरिकाले हाल चुकाइरहेको मूल्य र प्रभावहीनता बाट आफू बच्दै छ। अमेरिका भने चीनले अङ्गीकार गरेको आर्थिक नीतिको लागि उसको विरोध गरिरहेको छ। 

यस लडाइँमा चीन मात्र होइन रुस विरुद्ध समेत अमेरिका डटेर लागेको छ। रुसलाई युरोपबाट नै अलग राख्न र एक्लाउन यति धेरै प्रयत्न भइरहेका छन् कि त्यसको आभास पुरै युरोपलाई परिसकेको छ। अमेरिका रुसमा फेरी अर्को बोरिस याल्सिन जन्माउन खोजिरहेको छ। एसियाली भूमिमा अमेरिकी सपनाको खेती गर्ने त्यस्तो पात्र जन्माउने अमेरिकी प्रयासको सामु तगारो बनेर पुटिन बसेका छन्। 

रसिया र चीनमाथिको प्रतिबन्धको वास्तविक उद्देश्य उनीहरूलाई अप्ठ्यारोमा पारेर ती मुलुकको ठुलो जनसमूहमा राज्य प्रणाली माथि अविश्वास पैदा गर्नु हो पुर्‍याउनु हो। तर विडम्बनाको कुरा, अमेरिकाले अरू देशहरूलाई पृथक् पार्ने र समस्यामा धकेल्ने प्रयास गर्दा आफैँ एक्लिँदै छ र दलदलमा फस्दै छ। 

 

प्रतिक्रिया दिनुहोस