aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

फेरी बढ्यो व्यापार युद्धको त्रास, डलरको भाउ घटे पनि चीनले युआनको मूल्य बढ्न दिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ जेठ २०७८
फेरी बढ्यो व्यापार युद्धको त्रास, डलरको भाउ घटे पनि चीनले युआनको मूल्य बढ्न दिएन

पिपुल्स बैंक अफ चाइना (पीबीओसी)का वरिष्ठ अधिकारीहरूले त्यहाँको मुद्रा युआनको मूल्यलाई स्थिर राख्ने कुरा गरेको केहिदिन नबित्दै चिनियाँ सरकारले धमाधम डलर खरिद गर्न थालेको छ। डलरको तुलनामा आफ्नो मुद्रा युआन बलियो बन्न नदिन चिनियाँ बैंकहरूले खुला बजारमा डलर किन्न र युआन बेच्न थालेको बताएका छन्। 

पछिल्लो महिना अमेरिकी डलरले लगातार आफ्नो मूल्य गुमाउँदै आएको छ। यसको प्रभाव स्वरूप चिनियाँ मुद्रा युआन विगत तीन वर्ष यता कै सर्वाधिक बढी मूल्यमा कारोबार हुन थालेको छ।  त्यसैले विगत लामो समय देखी आफ्नो अवमूल्यन गर्दै आएको आरोप खेपिरहेको चिनियाँ मुद्रा युआनको मूल्यमा आएको वृद्धिलाई रोकेर स्थिरता कायम गर्न चीन सरकार सक्रिय बनेको देखिएको हो। 

बजारलाई पूर्ण रूपमा खुल्ला ढङ्गले नछोड्ने चीन सरकारको नीति छ। यसरी खुल्ला बजार अर्थतन्त्रको नीति अनुरूप हरेक मुद्राको मूल्य बजारले नै नियन्त्रण गर्ने सिद्धान्त भित्रै बसेर बेइजिङ बजार नियन्त्रण गर्न गज्जबको विधि अवलम्बन गरेको देखिन्छ। 

गत महिना मात्र बेइजिङले क्रिप्टो करेन्सिको कारोबार र माइनिङ माथि अवरोध सिर्जना गरेपछि त्यसको मूल्यमा ठुलो गिरावट आएको थियो। अनि त्यसै बेला सीसीपीका वरिष्ठ अधिकारीहरूले विभिन्न अनुमानहरू सार्वजनिक गरेर कमोडिटीको मूल्य बढाए।

यी सबै विधिहरू अवलम्बन गरेर चीनले आफ्नो मुद्रा युआनलाई त्यो स्तरमा पुर्‍याएको छ जसको मूल्य नबढ्दा चीनलाई लाभ हुन्छ भने विश्वका सारा अर्थतन्त्रहरुले ठुलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ। तीव्र गतिमा रहेको चिनियाँ अर्थव्यवस्थाको विश्वव्यापी प्रभाव अझ महत्त्वपूर्ण हुँदै गइरहेको छ।

बजारमा हस्तक्षेपका लागि चीनका केही व्यापारीहरूले समेत ठुलो मात्रामा युआन बिक्री गरिरहेको ब्लूमबर्गले जनाएको छ। त्यसैगरी सरकारी स्वामित्वका  ठुला चिनियाँ बैंकहरूले मङ्गलवार खुला बजारमा युआन बेचेका छन्। यसको बाबजुद युआनको स्तर सन् २०१८ को जुनमा रहेको भन्दा अझै बलियो देखिएको छ।

अगाडि हेर्दा चीन र अमेरिकाबिचको नयाँ युद्धको रूपमा युआन र डलरको प्रतिस्पर्धा देखा परेको छ।  जुन विश्व अर्थतन्त्रको स्थिरताको लागि समेत खतरा बन्ने देखिएको छ। त्यसै पनि पछिल्ला दिनमा डलर कमजोर बन्दै जाँदा विश्व व्यापारमा नै केही नकारात्मक सङ्केत देखिन थालिसकेका छन्। यसरी डलरले आफ्नो मूल्य गुमाउँदा स्वाभाविक रूपले बलियो बन्ने युआनको मूल्यलाई स्थिर राख्ने चिनियाँ प्रयत्नले अमेरिका र चीन बिचको व्यापार युद्धलाई समेत पुर्नजाग्रित गर्ने अनुमान लगाउन थालिएको छ। 

युआनको मूल्य स्थिरताको लागि बेइजिङले अझ प्रत्यक्ष हस्तक्षेप गर्ने सङ्केत पीबीओसीले गरिसकेको छ। आइतबार जारी विज्ञप्तिमा पीबीओसीका डेपुटी गभर्नरले युआन आधारभूत रूपमा स्थिर रहेको बताएका छन्। केन्द्रीय बैंकका केही अधिकारीले भने कि युआनले कमोडिटी आयातको उच्च लागतलाई कम गर्न यसको मूल्य कायम राख्नुपर्ने धारणा राखेका थिए। तर, त्यहाँको सरकार समर्थित पत्रिकामा शुक्रवार प्रकाशित त्यो समाचार पछि हटाइएको ब्लूमबर्गले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस