
एजेन्सी। २९ नोभेम्बर २०११ मा भारतको आर्थिक राजधानी मुम्बईबाट एउटा सनसनीपूर्ण खबर आयो - भारतको पहिलो सुन एटिएम यहाँ स्थापित गरिएको छ। मानिसहरूले यस एटिएमबाट सुन र चाँदीका सिक्का र सबै प्रकारका रत्नहरू किन्न सक्थे। तर, यो मेशिनले मानिसहरूलाई आकर्षित गरेन। नजिकका पसलहरूले कुनै पनि ग्राहकले यसलाई नचलाएको बताए।
एक समय भारतमा हीरा व्यापारको पोस्टर ब्वाई थिए- मेहुल चोकसी। तर, उनको कथा त्यही मुम्बईको एटिएम जस्तै भयो। उसको सुरुआत हीरा जस्तै चम्किलो थियो। उनको चाल-ढाल सुन जत्तिकै लचिलो थियो। तर, नतिजा के देखियो भने जसरी कुनै ग्राहक गहना पसलमा सजिलै ठगिन्छ त्यस्तै भयो।
तपाईँलाई लाग्न सक्छ, मेहुल चोकसीको समाचारमा त्यो सुन एटिएमको चर्चा किन ? जवाफ यो हो कि त्यो एटिएम मेहुलको कम्पनी गीताञ्जलीले स्थापना गरेको थियो।
मेहुलले बुबा चिनुभाई चोकसीको हीरा कटिङ गर्ने कामले उनीहरूलाई विदेशी कम्पनीहरू किन्न सक्ने स्तरमा पुर्यायो। तर पछि त्यस्तो पनि समय आयो जब कम्पनीको बदनामले कामदारहरूले आफ्नो जागिर छोडे।
उनले आफ्नो बहिनीको नाममा खोलेको गीताञ्जलीको सन् २००६ मा आईपीओमा जारी गरे। त्यसबाट उनले ३३० करोड रुपैयाँ सङ्कलन गरे। सन् २०१३ त्यहाँको नियामक निकायले हेराहेरीको शङ्कामा मेहुलको फर्मलाई ६ महिना शेयर बजारमा कारोबार गर्न रोक लगायो।
सन् २००८ मा नायिका क्याट्रिना कैफले उनको हीराको प्रचार गरिन् जसको कारण त्यो एक वर्षमा कम्पनीले ६० प्रतिशत व्यापार बढायो। पछि सन् २०१८ मा सो कम्पनीका पूर्व प्रबन्ध निर्देशक सन्तोष श्री वास्तवले गीताञ्जलीले आफ्ना ग्राहकहरूलाई नक्कली हिरा बेच्ने गरेको आरोप लगाए।
यसपछि सन् २०१३ मा शेयर बजारमा ६०० भारु मूल्य रहेको गीताञ्जलीको शेयर सन् २०१८ फेब्रुअरीमा ३३.८० भारुमा झर्यो। पन्जाब नेशनल बैंकको घोटाला पर्दाफास हुनु भन्दा पहिले नै उनले विदेशमा नागरिकताका लागि आवेदन गरिसकेका थिए। उनले १ लाख डलर लगानी गरेर नागरिकता पाउने देश पनि छनौट गरे। आज त्यही देशका प्रधानमन्त्रीले मेहुल चोकसी आफ्नो मुलुकको लागि समेत लाजको कारण भएको बताउँदै छन्।
एक समय थियो जब भारतका सबैभन्दा शक्तिशाली व्यक्ति प्रधानमन्त्री नरेन्द्र मोदी सार्वजनिक मञ्चमा उभिएर चोकसीलाई 'मेहुल भाइ' भन्थे। तर, छिट्टै त्यो समय पनि आयो जब मोदी सरकारका मन्त्री रवि शंकर प्रसादले 'मेहुल चोकसी, त्यही होइन त्यसको नाम' भन्दै उनी विरुद्ध खनिए।
भारतीय इतिहासको सबैभन्दा ठुलो बैंक घोटालाका आरोपी मेहुल चोकसीलाई अहिले एक भगौड़ा व्यापारी भनिन्छ। उनको बारेमा पछिल्लो खबर यो छ कि उनी बसिरहेको एन्टिगा छाडेर छिमेकी देश डोमिनिका गएका थिए र त्यहीँ पक्राउ परे। यो पत्ता लागेपछि एन्टिगाका प्रधानमन्त्रीले डोमिनिकालाई मेहुललाई सिधा भारत समक्ष हस्तान्तरण गर्ने सल्लाह दिएका छन्।
यसरी बेपत्ता भएको नाटकीय घटनाको तेस्रो दिन उनी डोमिनिका प्रहरीको कब्जामा परेका छन्। अब उनलाई भारत ल्याएर कानुनी कारबाही गर्ने तयारी चलिरहेको छ। (बिबिसी हिन्दीको सहयोगमा)
यो पनि पढ्नुहोस् : बैंकको साढे १३ हजार करोड डुबाएर हिरा व्यापारी बेपत्ता
प्रतिक्रिया दिनुहोस