काठमाडौं । बूढानिलकण्ठ यातायात प्रालिले असार १ गतेदेखि सुरु गरेको रात्रिकालीन बस सेवाको भाडा दरमा विवाद उत्पन्न भएको छ । रात्रिकालीन बसले न्यूनतम भाडा १५ को सट्टा २० रुपैयाँ लिन थालेपछि यात्रु र व्यवसायीबीच विवाद भएको हो । 'रातमा बसले दिएको सेवा ठीक छ, तर भाडाचाहिँ किन बढी लिएको ?' चक्रपथबाट रात्रिकालीन बसमा यात्रा गर्न थालेका दीपक बस्नेत भन्छन् ।
बसमा यात्रुहरुले बढी भाडाको विरोध गर्न थालेपछि बूढानीलकण्ठ यातायातमा विवाद हुने गरेको जानकारी उनले दिए । बूढानीलकण्ठ जमल, सहिद गेट, बस सेवा समितिका अध्यक्ष बाबुराम महर्जनले सर्वसाधारणलाई सुविधा दिन रात्रि सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार समितिका १४ वटा बसले रात्रिकालीन सेवा दिन थालेका छन् ।
'चालक तथा परिचालक भने रात्रिकालीन बस चलाएर आफूहरुले यात्रुलाई सुविधा दिए पनि उल्टै भाडा बढी लिएको भनेर विरोध गर्दा उल्टै ५ रुपैयाँ बढी तिर्नुपर्यो भनेर किचकिच गर्छन्,' उनीहरुको गुनासो छ, 'यो सेवा ट्याक्सी भाडाभन्दा धेरै सस्तो पर्न जान्छ तर सर्वसाधारण कुरै बुझ्दैनन् ।'
उनीहरुले यात्रुको विरोधका कारण रात्रिकालीन बस सञ्चालन अन्योल भएको बताए । यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थ खनाल भने रात्रिकालीन बस सेवा गर्न कसैलाई अनुमति नदिइएको बताउँछन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस