
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब रुपैयाँभन्दा बढीको बजेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएकी छिन् । मन्त्रालय स्रोतका अनुसार अपरान्ह चार बजे सिंहदरबार प्रधानमन्त्री कार्यालयबाट बजेट प्रस्तुत हुने छ ।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति बजेट अध्यादेशमा लालमोहर लगाएकी छिन । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।
प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अध्यादेशबाट बजेट ल्याउन लागिएको छ ।
चालु आर्थिक वर्षमा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६/७७ लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो ।
चालू आर्थिक वर्षमा सरकारले चालुतर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै वित्तीय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस