aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ज्याक मा : केही गर्छु भन्नेका लागि प्रेरणाको स्रोत, जो धेरै पटक फेल भए, कतै जागिर पाएनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
ज्याक मा : केही गर्छु भन्नेका लागि प्रेरणाको स्रोत, जो धेरै पटक फेल भए, कतै जागिर पाएनन्

`जीवन एक सङ्घर्ष हो। जीवनमा आउने हरेक कठिनाइमा धैर्यताका साथ अघि बढ्ने  हो भने एक दिन अवश्य सफलता हासिल हुन्छ।` यो प्रेरक भनाई अलीबाबा ई-कमर्स कम्पनीका संस्थापक अध्यक्ष तथा चीनका अर्वपति व्यापारी ज्याक माको हो। 

उनी जीवनमा जति नै असफलता हासिल गरे पनि कहिल्यै हार मानेनन्, बरु झन् दृढ आत्मविश्वासका साथ अघि बढी रहे । एउटा गरिब परिवारमा जन्मिएर पटक-पटकको असफलताको बाबजुद पनि सफलताको उचाइ चुम्न सफल ज्याक माको जीवनयात्रा आफ्नो कर्म क्षेत्रमा सङ्घर्ष गर्दै गरेका  हजारौँ युवाहरूको लागि प्रेरणाको स्रोत बन्न सक्छ। 

फोर्ब पत्रिकाले निकालेको अरबपतिको सूचीमा ४८. बिलियन डलर सहित विश्वका सर्वाधिक धनीहरूको सूचिमा २६ औँ नम्बरमा रहेका ज्याक माको जन्म सेप्टेम्बर १० सन् १९६४ मा चीनको शिन्जियाङ प्रान्तको हंझोमा  एउटा गरिब परिवारमा भएको हो। उनको वास्तविक नाम मा युन थियो। ज्याक माका आमाबुवा चिनियाँ नृत्य संस्था पिंगटानका कलाकार थिए । यो एक प्रकारको कथापरक परम्परागत नृत्य देखाउने र सिकाउने संस्था हो।

पढाइमा खासै रुचि नभएका ज्याक मा लाई सानै देखि अङ्ग्रेजी पढ्न भने  ठुलो चाहना थियो। तर, उनको परिवारको अङ्ग्रेजी पढाई हुने  ठुलो स्कुलमा पढाउन सक्ने आर्थिक हैसियत थिएन। अङ्ग्रेजी सिक्ने तीव्र इच्छा भएका ज्याक माले चीन घुम्न आउने पर्यटकलाई सित्तैमा पर्यटकीय ठाउँहरू घुमाई अङ्ग्रेजी  सिक्ने आफ्नो इच्छा पूरा गरे। करिब ९ वर्ष पर्यटकको पथ प्रदर्शक पेसामा आबद्ध भई अन्ततः उनी अङ्ग्रेजी भाषामा निपूर्ण भए। उनको नाम उच्चारण गर्न असहज भएका कारण एक पर्यटकले नै उनको नाम ज्याक मा राखिदिएका हुन्। 

ज्याक माको पढाई

पढाइमा सारै कमजोर ज्याक मा कक्षा ४ मा २ पटक र कक्षा ८ मा ३ पटक सम्म फेल भएका थिए। पछि युनिभर्सिटीमा पनि चार पटकमा मात्र  सेलेक्ट भएका थिए। उनले हाञ्जु नर्मल युनिभर्सिटीबाट अङ्ग्रेजी विषयमा स्नातक गरे । 

जागिरमा अयोग्य मा को अमेरिका  यात्रा

स्नातक गरेपछि रोजगारीको लागि उनले कयौँ ठाउँमा आवेदन दिए तर कतै पनि सफलता मिलेन। कामको लागि उनले प्रहरीमा पनि दरखास्त दिएका थिए तर त्यहाँ पनि उनी छनौट हुन सकेनन्। एक पटक उनी बस्ने सहरमा नै केएफसीले ब्रान्च खोलेको थियो त्यहाँ आवेदन दिएका  २४ जनामा २३ जना सेलेक्ट भए तर ज्याकमा रिजेक्ट भए। यति मात्रै होइन ज्याक माले विभिन्न ३० भन्दा बढी कार्यालयमा जागिरको लागि निवेदन दिँदा कतै पनि छनौट हुन सकेनन्। 

तर, यस्तो अवस्थामा पनि ज्याक मा ले हरेस खाएनन्। आत्मविश्वासका साथ अगाडि बढ्दै गए। यसबिचमा ज्याक माले अङ्ग्रेजी भाषामा राम्रो दक्षता हासिल गरेका कारण उनले भाषा अनुवाद केन्द्र नै खोले । त्यहाँ अङ्ग्रेजीबाट चिनियाँ र चिनियाँबाट अङ्ग्रेजी भाषामा अनुवाद गर्ने काम गरिन्थ्यो । आफ्नो अब्बल अङ्ग्रेजीकै कारणले उनले हंग्झो दियांझी विश्वविद्यालय अङ्ग्रेजी भाषा तथा अन्तर्राष्ट्रिय व्यापार विषय पढाउन थाले । 

६ वर्ष त्यहाँ पढाएर अर्को २ वर्ष एउटा अन्तर्राष्ट्रिय कम्पनीमा काम गरे। त्यो समयमा जागिरबाट राम्रै कमाई भएता पनि उनी त्यतिमा सीमित रहेनन्। यस बिच ज्याक माले एक दिन एक साथी मार्फत इन्टरनेटको विषयमा जानकारी लिए। उनलाई इन्टरनेटको कुरा सारै अनौठो लाग्यो र यो विषयमा केही गर्नु पर्छ भने सोच बनाए । सन् १९९४ मा उनी उद्यमी भएर अमेरिका भ्रमणमा गए ।   

अलिबाबा ई-कमर्स को सुरुवात

ज्याकले सन् १९९६ मा चाइना येलो पेजको सुरुवात गरे । त्यो बेलासम्म चीनमा सर्वसाधारणको घरसम्म कम्प्युटर पुगेको थिएन। त्यसको तीन वर्षपछि सन् १९९९ मा ज्याक माले आफ्नो अपार्टमेन्टमा आफ्ना १७ जना साथीहरूसँग मिलेर इ-कमर्स वेबसाइट अलीबाबा सुरु गरे । कम्पनी खोल्नका लागि चाहिने ६० हजार डलर रकम उनले दक्षिणी चीनका आफ्ना ८० जना साथीहरुसँग् ऋण खोजेर जुटाएका थिए ।

कम्पनीमा लगानी भित्राउन सन् २००० मा दिएको छ मिनेट लामो प्रस्तुतिबाट प्रभावित भएपछि जापानको सफ्टबैंक कर्पोरेसनले  ज्याक मालाई दुई करोड डलर बराबरको लगानी दियो ।

बिजनेस टु बिजनेस (बिटुबि) अनलाइन प्लेटफर्म सुविधा प्रदान गर्ने अलिबाबाले चिनियाँ सप्लायर र अन्तर्राष्ट्रिय खरिदकर्ताबिच सूचनाको खाडल पुरिदियो। जसले गर्दा अलिबबा आश्चर्यजनक ठुलो इ-कमर्स  समूह बन्न सफल भयो । उनले आफ्नो घरबाट सुरु गरेको अलिबाबा अहिले विश्वकै सबैभन्दा ठुलो प्रविधि कम्पनीमध्येमा पर्छ।

उक्त कम्पनी अहिले अनलाइन किनमेल, क्लाउड कम्प्युटर र आर्टिफिसिएल इन्टेलिजन्स (एआई) जस्ता सेवाका माध्यमबाट करिब ९० करोड प्रयोगकर्तासँग जोडिएको छ। 

ज्याक माको रुचि

सन् २०१७ मा ज्याक माले अलिबाबाको वर्षगाँठमा आयोजित कार्यक्रममा दिवङ्गत माइकल ज्याक्सनको जस्तै पहिरन लगाएका थिए । गत वर्ष उनले अभिनयको दुनियाँमा पनि कदम राखे । ज्याक मा एक सर्ट फिल्ममा मार्सल आर्ट्स मास्टर जेट लीसँग देखिएका थिए । ज्याक मा मार्सल आर्टका प्रशंसक मात्र नभई ३० वर्षभन्दा धेरै समयदेखि ताई चीको अभ्यास पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस