aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोनाको खोप बेचेर यी नौ जना चढे विश्व अर्वपतिको सूचिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
कोरोनाको खोप बेचेर यी नौ जना चढे विश्व अर्वपतिको सूचिमा

एजेन्सी। सारा विश्व नै दुखमा परेका बेला कोरोना विरुद्धको खोप बेचेर 'बिग फर्मा'का नौ जना व्यापारीहरू अर्वपति बनेका छन्। हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार कोभिड-१९ को महामारीको बेला अर्वपति "भ्याक्सिन बिलिनियर"हरुले अहिले सम्म १९.३ अर्व डलर सम्पत्ति कमाइसकेका छन्। 

त्यो रिपोर्ट तयार पार्ने संस्था पिपुल्स भ्याक्सिन एलाइन्सले भनेको छ कि औषधि उत्पादन गर्ने फर्मास्युटिकल्स कम्पनीको एकाधिकार यति बढी छ कि केही मुट्ठीभर व्यक्तिहरूको हातमा कोरोना विरुद्धको खोपको उत्पादन गर्ने अधिकार छ। 

स्वास्थ्य र मानवीय क्षेत्रसँग सम्बन्धित संस्था, अभियन्ता र अर्थशास्त्रीहरुले उल्लेखित नौ जना बाहेक अरू आठ जना अर्वपतिले समेत कोरोना विरुद्धको खोपको निर्माणको माध्यमबाट ३२.२ अर्व सम्पत्ति यसबिचमा थपेका छन्। 

अक्सफामका स्वास्थ्य नीति व्यवस्थापक अन्ना मेरियट जो पिपुल्स भ्याक्सिन एलाइन्सका एक सदस्य पनि हुन् उनले भनेका छन्, "यी अर्वपतिहरु ती मानिसहरू हुन् , जसले फर्मास्युटिकल्स कम्पनीको माध्यमबाट ठुलो मात्रामा नाफा बटुलिरहेका छन् र खोपमाथिको एकाधिकार कब्जा गरेर राखेका छन्। उनी अगाडी थप्छन्, " यी  खोपहरु सार्वजनिक पैसाबाट बनेका हुन् र यसलाई सर्वप्रथम र तुरुन्तै विश्वभरका मानिसहरूको साझा सम्पत्ति बनाइनु पर्छ। कसैको निजी नाफा आर्जन गर्ने अवसर बन्न दिइनु हुँदैन।'

नयाँ रिपोर्टमा सार्वजनिक गरिएको सूचिमा ४ जना त अमेरिकाको खोप निर्माता कम्पनी मोर्डनाका मालिकहरू नै छन्। ती लगायत अरू खोप अर्वपतिहरु यस्ता छन् :

स्टेफन वानसेल मोर्डनाका प्रमुख कार्यकारी अधिकृत हुन्। जो सो सूचिको पहिलो नम्बरमा छन्। जसले ४.३ अर्व डलर आर्जन गरेका छन्। दोस्रो नम्बरमा बायोन्टेकका संस्थापक तथा सिइओ उगन साहिन रहेका छन् जसको सम्पत्ति ४ अर्व डलर छ। मोर्डनाका लगानीकर्ता तिमोथी स्प्रिङ्गरको २.२ अर्व डलर सम्पत्ति रहेको छ भने चौथो नम्बरमा रहेका मोर्डना कै अध्यक्ष नौवर अफीयनले १.९ अर्व डलर जोडेका छन्। 

पाँचौँ नम्बरमा रहेका स्पेनका औषधी निर्माता जोन लोपेजले  मोर्डनालाई खोपको कच्चा पदार्थ बेचेर नै १.८ अर्व डलर कमाए भने  मोर्डना कै अर्का लगानीकर्ता तथा वैज्ञानिक रोबर्ट ह्याङ्गर १.६ अर्वका साथ छैटौँ नम्बरमा छन्। 

सातौँ, आठौँ र नवौँ नम्बरमा चिनियाँ खोप उत्पादक कम्पनी केनसाइनो बायोलोजीका झू ताओ, क्युई डोंगजू र माओ बिहाऊ रहेका छन्। सो कम्पनीको संस्थापक रहेका उनीहरूको सम्पत्ति क्रमशः १.३ अर्व डलर, १.२ अर्व डलर र १ अर्व डलर रहेको छ। 

यसरी खोप अर्वपतिहरु अब संसारका सर्वाधिक धनीहरूको सूचीमा टेस्लाका एलन मक्स, अमेजनका मालिक जेफ बेजोस, फेसबुकका संस्थापक मार्क जुकरबर्ग र माइक्रोसफ्टका विल गेट्सहरू रहेको सूचिमा समावेश भएका छन्। जसले सन् २०२० सुरु भए यता मात्रै कुल ४८८ अर्व डलर सम्पत्ति जोडेका छन्। 

प्रतिक्रिया दिनुहोस