aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

बर्नार्ड अर्नाल्ट बने विश्वका सर्वाधिक धनी, अमेरिकीबाट त्यो ताज खोस्ने को हुन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
बर्नार्ड अर्नाल्ट बने विश्वका सर्वाधिक धनी, अमेरिकीबाट त्यो ताज खोस्ने को हुन् ?

एजेन्सी।  फ्रान्सेली अर्वपति बर्नार्ड अर्नाल्ट १९२.२ अर्व डलर भन्दा बढी कुल सम्पत्ति सहित पहिलो पटक विश्वका धनी व्यक्ति भएका छन्। विश्वका धनाढ्यहरूको सम्पत्तिको विवरण सार्वजनिक गर्ने चर्चित पत्रिका फोर्ब्सका अनुसार कोरोना महामारी सुरु भएयता मात्रै उनको सम्पत्तिमा १४५ प्रतिशतले वृद्धि भएको हो। 

अर्नाल्ट र उनको परिवारको विश्व विख्यात लक्जरी समूह एलभिएमएच छ। अर्नाल्ट विश्वका धनीहरूको सूचिमा शीर्ष स्थानमा पुगेको घटना यसकारण विशेष गरी उल्लेखनीय छ कि अमेरिकी अर्वपतिहरुले लामो समयदेखि आफूमा राखेको त्यो ताज उनले खोसेका छन्। 

विशेष गरी प्रविधिको क्षेत्रमा काम गर्ने अमेरिकीले धेरै वर्षसम्म विश्वको सबैभन्दा धनी व्यक्तिका रूपमा प्रभुत्व जमाएका थिए। अमेजनको जेफ बेजोस अझै पनि अर्नाल्टसँग सम्पत्तिमा त्यति पछि छैनन्। उनको सम्पत्ति अहिले पनि १८७ अर्व डलर छ। टेस्ला मालिक एलोन मस्क भने १५६ अर्व डलरका साथ तेस्रो स्थानमा केहीपछि नै छन्। 

जेफ बेजोसले सन् २०२१ को सुरुवातमा शीर्ष स्थान हात पारे तर एलोन मस्क र बर्नार्ड अर्नाल्ट दुवैले उनलाई चुनौती दिँदै आएका थिए। टेस्लाको शेयर बजारमा केही शिथिलता आएपछि अन्ततः अर्नाल्टले बेजोसलाई पछाडि पारे। 

अर्नाल्टको नाम धेरैको लागि नयाँ हुन सक्छ तर उनी २०१८ पछि विश्वका शीर्ष पाँच धनी व्यक्तिहरू मध्ये एकका रूपमा रहँदै आएका छन्। उनी विगत एक दशक भन्दा बढी समयदेखि अरबपतिको सूचिमा छन्। यी फ्रान्सेली व्यापारीले सन् १९८५ मा क्रिश्चियन डायर खरिद गरेर फेसन व्यापार सुरु गरेका हुन्।

बर्नार्ड अर्नाल्टका धेरै प्रख्यात फ्रान्सेली लक्जरी ब्रान्डहरू छन्।  जसमध्ये लुइस वीटन, डोम पेरिग्नोन र क्रिश्चियन डायर निकै चर्चित छन्। 

यो आश्चर्यजनक लाग्न सक्छ कि कोभिड-१९ महामारीको समयमा एलभिएमएच कसरी फस्टाइरहेको छ ? तर एसिया, विशेष गरी चीनमा भएको ठुलो बिक्रीले कम्पनीलाई निकै माथि पुर्‍याएको हो।

जनवरी २०२१ मा, एलभिएमएचले टिफनी एण्ड कम्पनी १६ अर्ब डलरमा खरिद गर्‍यो यो सम्भवतः इतिहासको सबैभन्दा ठुलो लक्जरी ब्रान्ड अधिग्रहण हो।एलभिएमएचले सन् २०१९ मा लक्जरी आतिथ्य समूह, बेल्मन्डको लागि ३.२ अर्ब डलर खर्च गरेको फोर्ब्सले जनाएको छ। जसले ४६ वटा होटल, ट्रेन र क्रूजको स्वामित्व  एलभिएमएचलाई प्राप्त भएको छ।

बर्नार्ड अर्नाल्टका बुबाले निर्माण क्षेत्रको काम गर्थे। सन् १९८५ मा उनीबाट एक करोड ५० लाख रुपैयाँ लिएर क्रिश्चियन डायर किन्नका उनले यो व्यवसाय सुरुवात गरेका थिए। अर्नाल्टका चार बच्चाहरू फ्रेडरिक, डेल्फिन, एन्टोइन र अलेक्जान्ड्रे एलभिएमएचमा नै काम गर्दछन्।

 

प्रतिक्रिया दिनुहोस