
एजेन्सी। चर्चित मेडिकल जर्नल 'द ल्यान्सेट' ले आफ्नो अनुसन्धानात्मक सोधको आधारमा तयार पारेको लेखमा कोरोना सङ्क्रमित बालबालिकामा 'मल्टिसिस्टम इन्फ्लेमेटरी सिनड्रोम' (एमआईएस-सी) एक गम्भीर रोग लाग्ने गरेको बताएको छ। अहिले भारतमा यो रोगले धेरै बालबालिकाहरू बिरामी परेपछि द ल्यान्सेटको त्यो सोधलाई स्मरण गरिएको हो।
भारतमा ठुलो सङ्ख्यामा बच्चाहरूमा यस्तो समस्या देखिएपछि यस सम्बन्धी एक लामो समाचार बीबीसी हिन्दीले प्रकाशित गरेको छ। जसमा भनिएको छ, पेसामा शिक्षक रहेका भारत उत्तर प्रदेश गाजियावादमा बस्ने सुरजको सम्पूर्ण परिवार केही अघि कोरोनाबाट सङ्क्रमित भयो। पछि परिवारका सबै सदस्यले कोरोना जिते तर ४ वर्षीय छोरा अमन भने फेरी बिरामी परे। बिरामी हुनु अघि उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित थिए।
मे महिनाको दोस्रो सातामा सम्पूर्ण परिवारले कोरोनाबाट मुक्ति पाएका थिए। कोरोना सङ्क्रमणको समयमा परिवारको बाँकी सदस्य भन्दा अमनको आँखामा सङ्क्रमण देखियो। तर,अरू कुनै गम्भीर लक्षणहरू थिएन।
अमनको आरटी-पीसीआर रिपोर्ट नकारात्मक थियो, तर एन्टिबडी परीक्षणमा कोभिडको एन्टिबडीहरू शरीरमा पर्याप्त मात्रामा फेला पर्यो। अमनको उपचार गरिरहेका नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. अजित कुमारले भने कि "अमनको ईसीजी खराब थियो। उनको इको (हृदय परीक्षण) रिपोर्ट पनि राम्रो थिएन। यस स्वास्थ्य अवस्थामा केही अन्य स्वास्थ्य चिन्हहरू पनि गलत थिए। यो असामान्य कुरा हो। "
डा. अजितले भने, "जसरी मानिसहरू कोरोनाबाट निको हुन थालेका छन्, बच्चाहरूमा एमआईएसको घटना बढेको छ। यो मुख्यतया कोरोना सङ्क्रमण पछि देखा पर्ने अवस्था हो। यद्यपि बच्चाहरूमा एमआईएस अझै दुर्लभ छ। तर, कोरोनाको दोस्रो लहरमा सङ्क्रमणको घनत्व धेरै भएको कारण यस्तो समस्या भएका बच्चाहरू पनि ठुलो सङ्ख्यामा देखिएका छन्।"
डा. अजित कुमारको अस्पतालमा बच्चाहरूका लागि छ वटा आइसियु बेड छन्। उनका अनुसार अहिले ती सबै बेड यस्तै समस्या भएका बच्चाहरूले भरिएका छन्। सञ्चारमाध्यममा आएका रिपोर्टहरूका अनुसार राजधानी सहर दिल्लीको विभिन्न क्षेत्रमा हालसम्म २०० भन्दा बढी यस रोगका बिरामीहरू फेला परिसकेका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार भारतका विभिन्न राज्यहरूमा बच्चाहरू मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमको बारेमा चिन्तित छन्। यसलाई भारतीय बाल चिकित्सा एकेडेमीले स्वीकार गर्दै रिपोर्ट गरेको छ कि पछिल्लो दिनमा एमआईएसको घटनाहरू धेरै नै बढेको छ।
इन्स्टिच्युटका अनुसार एमआईएस-सीका घटनाहरूमा अचानक उछाल देखिएको छ। जसले कोरोनाबाट पीडित ४ वर्ष देखि १८ वर्षका बच्चाहरूलाई प्रभाव पार्दछ। यद्यपि, केही केसहरूमा यस रोगको प्रभाव छ महिनासम्मका बच्चाहरूमा पनि देखिएको छ।
एमआईएस-सी कसरी पहिचान गर्ने ?
अमेरिकी रोग नियन्त्रण र रोकथाम सङ्गठन केन्द्र (सीडीसी) ले मे २०२० देखि यस रोगको अध्ययन गरिरहेको छ। सीडीसीका अनुसार एमआईएस-सी एक दुर्लभ रोग हो, तर खतरनाक छ जुन कोभिड १९ सँग सम्बन्धित छ। सीडीसीका अनुसार यो रोगले मुटु, फोक्सो, मिर्गौला, आन्द्रा, दिमाग र बच्चाहरूको आँखालाई असर गर्न सक्छ।
अमेरिकी अनुसन्धानकर्ताहरूका अनुसार एमआईएस-सी पीडित केही बच्चाहरूले घाँटी दुखाई, शरीरमा दाग, सुन्निने आँखा र लगातार थकानको गुनासो गरेका छन्।
यस्ता हुन्छन् सुरुवाती लक्षणहरू
विश्वको सबैभन्दा प्रसिद्ध मेडिकल जर्नल, द ल्यान्सेटले आफ्नो प्रतिवेदनमा यसबारे लेखेको छ, "अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि यस रोग पछि बिरामीहरू थप ७ देखी ८ दिनसम्म अस्पतालमा बस्नु परेको थियो। सबै बच्चाहरूलाई ज्वरो आएको थियो। करिब ७३ प्रतिशत बच्चाहरूलाई पेट दुखेको वा पखाला लागेको । लगभग ६८ प्रतिशत बच्चाहरूलाई पनि बान्ता भइरहेको थियो। "
विश्वका अन्य ठुला संस्थाहरूमा देखा पर्ने लक्षणहरू बाहेक, बेलायतको प्रख्यात मेडिकल जर्नल बीएमजेले बच्चामा देखिएको आँखाको सङ्क्रमणलाई एमआईएस-सीको प्रमुख लक्षणको रूपमा व्याख्या गरेको छ।
बीएमजे - संसारकै सब भन्दा पुरानो मेडिकल जर्नलहरू मध्ये एक हो। त्यसको रिपोर्टका अनुसार कहिलेकाहीँ एमआईएस-सी लक्षण अन्य रोगहरुसंग पनि मिल्छ। र, समयमा नै उपचार भएन भने चाँडै बढ्छ।
प्रतिक्रिया दिनुहोस