
अहिले केवल दुई राष्ट्रहरू छन्, जसले मङ्गल अर्थात् रातो ग्रहको सतहमा सफलतापूर्वक रोवर्सहरू अवतरण गरिसकेका छन्। ती हुन् : संयुक्त राज्य अमेरिका र जन गणतन्त्र चीन। जसले गर्दा आगामी वर्ष वर्षदेखि अन्तरिक्ष सम्बन्धी सञ्चार सञ्चारमाध्यमहरूमा बारम्बार प्रमुख हेडलाइन बन्ने देखिएको छ।
यो एक त्यस्तो प्रतिस्पर्धाको रूपमा विकास हुँदै छ जसका कारण मानव जातिको अर्को वासस्थान मङ्गल ग्रह बन्ने अपेक्षा गरिएको छ। यस रणनीतिक प्रतिस्पर्धाका दुई प्रमुख दाबेदारहरू संयुक्त राज्य अमेरिका र चीन हुनेछन्। र, अहिले प्रश्न के उठेको छ भने अन्तरिक्षमा चलेको यो युद्धमा जित कसको हुने छ ?
अमेरिकाको कमजोरी
धेरै लामो समयदेखि पश्चिमी पर्यवेक्षकहरूले अन्तरिक्ष टेक्नोलोजी उद्योगको चीनमा भइरहेको द्रुत गतिको विकासलाई नियालिरहेका छन्। अनि उनीहरूको निष्कर्ष यो थियो की चीनले यो क्षेत्रमा केही गर्न सक्ने छैन। हालै त्यहाँका सञ्चारमाध्यमहरूमा 'चिनियाँ मार्टियन रोभर, झुरङ, नासाले विकास गरेको रोभरको तुलनामा धेरै कमजोर छ' हेडलाइनहरू बनाए। यद्यपि, नासालाई आफ्नो रोभर सञ्चालनमा जटिलताको अन्त्य गर्न लगभग ३० वर्ष लाग्यो जुन कुरामा अहिले अमेरिकी अन्तरिक्ष एजेन्सी गर्व गरिरहेको छ ।
पक्कै पनि चीन अझै केही वर्षसम्म अमेरिका भन्दा पछाडि नै हुने अपेक्षा गर्न सकिन्छ। तर, चीनको जुन महत्त्वाकाङ्क्षी योजना छ त्यो अन्तरिक्ष कार्यक्रमले संयुक्त राज्य अमेरिकालाई खतरामा पार्ने देखिन्छ।
बेइजिङलाई अन्तरिक्षमा अमेरिकीहरू समात्न धेरै दशक लाग्दैन भन्ने लगभग स्पष्ट भएको छ। किनकि अनुभव र प्रतिस्पर्धा भन्दा ठुलो शिक्षक कोहिपनि हुँदैन। अहिले चीन सिकिरहेको छ।
चीनको तीव्र गति
प्रतिस्पर्धाको रूपमा चीनले वास्तवमै आफू अमेरिकासँग एक नयाँ अन्तरिक्ष दौडमा भएको विश्वास गर्दछ जबकि अधिकांश अमेरिकी नेताहरूले अझै यो क्षेत्रमा चीनलाई प्रतिस्पर्धीको रूपमा हेरेका छैनन् । यी राष्ट्रहरूबिचको नयाँ अन्तरिक्ष दौडले कुनचाहिँले मङ्गल ग्रहमा पहिले मान्छे पुर्याउँछ भन्ने कुरा मात्र निर्धारण गर्दैन बरु रणनीतिक रूपमा उच्च भूमिमा कसले प्रभुत्व जमाउँछ भन्ने कुरा निर्णय गर्दछ। यहाँ यो बुझ्नु जरुरी हुन्छ कि जसले उच्च भूमि नियन्त्रण गर्दछ उसले तलको क्षेत्रलाई पनि नियन्त्रण गर्दछ।
चीनले यही महिना आफ्ना तीन अन्तरिक्ष यात्रीलाई निर्माणाधीन अन्तरिक्ष स्टेसनमा पठाउने भएको छ। चाइनिज म्यान्ड स्पेस एन्जेसीका अनुसार शनिवार सामान र उपकरणको कार्गो स्पेसक्राफ्ट स्पेस स्टेसनमा पठाएको थियो। चीनको अखबार ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार ती अन्तरिक्ष यात्रीहरू सो अन्तरिक्ष स्टेसनमा तीन महिनासम्म बसेर त्यसको निर्माण र मर्मत गर्नेछन्।
चीनको अन्तरिक्षमा गति निकै छिटो देखिन्छ। सन् २००३ सम्म चीनको अन्तरिक्ष कार्यक्रमले कुनै गम्भीर उडान गर्न सकेको थिएन। त्यस बेलासम्ममा अमेरिकाले तारामाथि प्रभुत्व जमाएको दशकौँ भइसकेको थियो। सन् २००३ मा चीनले पहिलो पटक टेकोनोटलाई पृथ्वीको कक्षामा राख्यो। त्यसपछिको १८ वर्षको अवधिमा बेइजिङले आफ्ना अन्तरिक्ष यात्रीलाई पटक पटक पृथ्वीको कक्षामा पुर्याउने मात्र काम गरेन बरु सफलतापूर्वक काउन्टर स्पेस क्षमताहरू पनि विकसित गरेको छ।
यदि युद्धको अवस्थामा आयो भने अरूलाई अन्तरिक्षमा पुग्न नदिने सम्मको हतियार अहिले चीनसँग छ। बेइजिङले इतिहासमा पहिलो पटक चन्द्रमाको अन्धकार क्षेत्रमा पहिलो रोभर अवतरण गरेको छ। रातो चीनले सफलतापूर्वक आफ्नो मोड्यूलर स्पेस स्टेसनको निर्माण पूरा गर्न लागेको छ जसले अमेरिकीद्वारा निर्मित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई प्रतिस्पर्धा गर्ने हो।
अर्को १८ वर्षमा चीनको अन्तरिक्ष कार्यक्रम कहाँ पुग्नेछ ?
बेइजिङका नेताहरूले अर्को दशकको लागि आफ्नो योजनाहरू रेखाङ्कित गरिसकेका छन्। सन् २०२४ सम्ममा चन्द्रमाको दक्षिण ध्रुवमा एक स्वचालित आधार शिविर निर्माण गर्ने योजनामा चीन छ। सन् २०२८ मा चिनियाँ सम्भवतः रुसी कर्मचारी स्थायी रूपमा त्यो आधार शिविरमा बस्न थाल्ने छन् ।
चीनले सन् २०३० सम्ममा मङ्गल ग्रहको सतहमा मानिस पुर्याउने तयारी गरिरहेको छ। पश्चिमका अन्तरिक्ष वैज्ञानिकहरूले विगत दुई दशकसम्म चीनको अन्तरिक्ष महत्त्वाकाङ्क्षालाई हाँसोको विषय बनाएका थिए। अझैपनी उनीहरू आफ्नो अन्तरिक्षको सपनाहरूमा चीनको सम्भावना टार्न खोजिरहेका छन् ।
तर, के देखिंदैछ भने जुन बेला अमेरिकी नीति निर्माताहरूले चीनले अन्तरिक्षको क्षेत्रमा उल्लेख्य प्रगति गरेको महसुस गर्नेछन् त्यो बेला सम्म चीनले आफ्नो गति पक्रिसकेको हुनेछ। र, अन्ततः अन्तरिक्ष मा चलेको यो नयाँ प्रतिस्पर्धामा चीनले अमेरिकालाई हराउनेछ।
यसको प्रमुख आधार के हो भने चीनको शासनले प्रभुत्व जमाएको एक सय वर्ष हुने साल सन् २०४९ लाई उनीहरूले एउटा आधार बिन्दु बनाएका छन्। उनीहरूले "चाइना ड्रीम २०४९” नामकरण गरेको सो कार्यक्रमको एक प्रमुख उद्देश्य भनेको संयुक्त राज्य अमेरिकालाई विश्वको प्रभुत्वकारी राष्ट्रबाट विस्थापित गर्नु हो। उता अन्तरिक्षमा त्यस्तै प्रभुत्व कायम गर्न मङ्गलमा पहिलो पटक चिनियाँ झण्डा गाड्नु त्यो कार्यक्रमको अर्को प्रमुख लक्ष्य हो
प्रतिक्रिया दिनुहोस