
एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा एउटा त्यस्तो भोजनालय छ जहाँ मास्क लगाएर खाना अर्डर गर्यो भने त्यस्तो ग्राहकले बढी पैसा तिर्नुपर्छ। सो रेस्टुरेन्टका मालिकले मास्क हटाउन अस्वीकार गर्ने ग्राहकहरूको लागि ५ डलर थप जरिवाना तोकेका छन्।
स्थानीय समाचार संस्था एनबीसी बे एरियाका अनुसार मेन्डोसिनो नामक क्यालिफोर्नियाली रेस्टुरेन्टका मालिकले उनको रेस्टुरेन्ट भित्र भित्र मास्क लगाउने ग्राहकहरूलाई दण्डित गर्ने गरेका हुन्।
"यहाँ मास्क लगाएर खाना अर्डर गर्नेले ५ डलर शुल्क बढी बढी तिर्नु पर्ने छ" त्यो रेस्टुरेन्टको झ्यालमा लेखिएको छ। उक्त रेस्टुरेन्टले आफ्ना पोस्टहरूमा पनि यो सूचना जारी गरेको छ।
मेडोसिनोमा फिडलहेड्स क्याफेले मास्क लगाएको निरुत्साहित मात्र गर्दैन थप पेनाल्टी पनि लिन्छ। त्यहाँ अर्को सूचना पनि छ जसमा लेखिएको छ, 'यदि कसैले आफूले खोप लगाएको कुरा गर्व गर्दै बतायो र त्यस्तो कुरा गरेको सुनियो भने त्यस्तालाई थप ५ डलर अतिरिक्त शुल्क लाग्नेछ।
"ग्राहकहरूले या त यसलाई मन पराउँछन् वा घृणा गर्दछन्," रेस्टुरेन्टका मालिक क्रिस क्यासलम्यानले एनबीसी बे एरियालाई पठाएको एक इमेलमा लेखेका छन्, 'यो शुल्कलाई अन्ततः एक वैकल्पिक चन्दा मानिन्छ जुन घरेलु हिंसाको सिकार भएकाहरूलाई सहयोग पुर्याउने दानमा जान्छ।'
"त्यहाँ केही व्यक्ति छन् जसले यस्तो थप शुल्क भुक्तान गर्न अस्वीकार गर्छन्; मलाई लाग्छ ५ डलर दान उनीहरूको लागि धेरै भो। अरूले खुसीसाथ भुक्तान गर्दै राम्रो काम गरेको भन्दै प्रशंसा गर्छन्। म कसैलाई तिर्न बाध्य पार्दिन, म तिनीहरूलाई छनौटको स्वतन्त्रता दिन्छु", क्यासलम्यानले थपेका छन्।
यो रेस्टुरेन्टमा यस्तो पहिलो पटक भएको होइन। क्यासलम्यान मास्क बारेको बहसमा भाग लिँदै आएका छन्। त्यसैले गएको अप्रिलमा उनले सूचना टाँस्दै यस्तो लेखेका थिए: "हाम्रो ट्र्याक बिन (फोहोर फाल्ने भाँडो) मा तपाईँको मास्क फाल्नुहोस् र आफ्नो अर्डरमा ५० प्रतिशत छुट प्राप्त गर्नुहोस् साथै नि: शुल्क कोभिड खोप लगाएको कार्ड प्राप्त गर्नुहोस्।" उनले कोभिड-१९ खोप लगाएकाले पाउने जस्तो देखिने खोप कार्डको फोटोकपीको रेस्टुरेन्टमा राखेका थिए।
प्रेस डेमोक्रेटका अनुसार, क्यासलम्यानले विभिन्न स्वास्थ्य आदेशहरू उल्लङ्घन गरेको कारण काउन्टी स्वास्थ्य अधिकारीहरूले उनीबाट १० हजार डलर जरिवाना असुल्दै अस्थायी रूपमा रेस्टुरेन्ट बन्द समेत गरिदिएका थिए। उनलाई अनुहार ढाक्ने फेससिल्ड नलिएको, सामाजिक दूरी कायम नगरेको र कर्मचारीले समेत त्यसको पालना नगरेको आरोप लगाएर त्यस्तो जरिवाना लिइएको थियो।
"म मेरा कामदारहरूलाई केही गर्न भन्दिन," क्यासलम्यानले भने, "त्यो उनीहरू र काउन्टीको बिचको कुरा हो। यी सबैमा रहेको मेरो अडान भनेको व्यक्तिगत जिम्मेवारी र व्यक्तिगत छनौटको बारेमा हो।"
क्यासलम्यानले आफ्नो रेस्टुरेन्ट चलाउन आवश्यक सहयोग माग्दै 'गोफण्डमी'मा मद्दतको लागि गत जुन मा पेज सेट अप गरेका थिए। जसमा उनले ५ हजार डलर सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ हजार ५ सय डलर जम्मा भएको थियो।
प्रतिक्रिया दिनुहोस