aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित, कुन प्रदेशका कति प्रतिशत उद्योग सञ्चालनमा ?

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, १९ जेठ २०७८
६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित, कुन प्रदेशका कति प्रतिशत उद्योग सञ्चालनमा ?

काठमाडौं । मुलुकभर करिव ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार प्रदेशगत रूपमा प्रदेश १ (८२.७ प्रतिशत), गण्डकी प्रदेश (७५ प्रतिशत), बागमती प्रदेश (६९ प्रतिशत), प्रदेश–२ (६९ प्रतिशत), लुम्बिनी प्रदेश (६४.५ प्रतिशत), सुदूरपश्चिम (५७.७ प्रतिशत) र कर्णाली प्रदेशमा (४५.५ प्रतिशत) उद्योग व्यवसायमा असर पर्न गएको छ ।

महासंघसहित यसको सिंगो सञ्जाल नै यतिखेर मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको भन्दै कोभिडको दोस्रो लहरको महामारीका कारण वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट सुरू भएको निषेधाज्ञा अहिले एक दुई जिल्लाबाहेक सबैमा जारी रहेको पनि निजी क्षेत्रको छाता संगठनले जनाएको छ ।

महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीसँग जारी निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन सम्वाद गर्दै उनीहरुका समस्या तथा तथ्यांक संकलन गर्ने कोशिस गरिरहेका पनि जनाएको छ ।

खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन् । पसलहरू बिहान ३–४ घण्टा मात्र खुल्ने गरेका छन् । उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसाय भन्दा पनि सामाजिक भावना अनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको पनि महासंघले जनाएको छ ।

कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायीहरू परेका छन् र कतिपय उद्योगी व्यवसायीको कोभिडकै कारण ज्यान समेत गइसकेको छ, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संक्रमित हुनेको संख्या पनि निकै ठूलो हुन सक्ने भन्दै महासंघले आफ्नो ज्यानको समेत प्रवाह नगरी अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटिरहेको स्मरण गराएको छ ।

दोस्रो लहरको कोभिड संक्रमणको विस्तार भएसँगै महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र आम सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउँदै आफ्नो सञ्जाललाई आफ्नो क्षेत्र र तहबाट सहयोगमा उत्रन अपिल गरेर जनाएको छ ।

आइशोलेशन निर्माण, सञ्चालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन(कन्सन्ट्रेटर लगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापनामार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्कमार्फत सहयोगमा जुटिरहेका पनि महासंघको भनाइ छ ।

त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, विरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, वेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रबन्ध, जनचेतना विस्तारमा निजी क्षेत्र खटिरहेको महासंघले जनाएको छ ।

केही सदस्य उद्योग वाणिज्य संघहरूले राहत कोष खडा गरी स्वास्थ सहयोग गरीरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी वेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइशोलेशन केन्द्र निर्माण तथा सञ्चालन लगायतमा सहयोग गरीरहेको महासंघले जनाएको छ ।
महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट हालसम्म सयौं विरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस