
कोरोना भाइरसको संक्रमण भएर निको भएका धेरैजसो मानिसहरूमा जीवनभरका लागि त्यस विरुद्धको प्रतिरोधी क्षमता निर्माण हुने देखिएको छ । वैज्ञानिकहरूले गरेको पछिल्लो रिसर्चमा त्यस प्रकारको प्रतिरोधी क्षमता विकास हुने देखिएको हो ।
अनुसन्धानकर्ताहरुले शोधपत्रमा उल्लेख गरे अनुसार त्यस प्रकारको प्रतिरोधी क्षमता भएको कोष कोरोनाबाट निको भएका मानिसहरूको बोन म्यारो (हड्डी भित्रको मासी)मा विकास हुन्छ । अध्ययनबाट प्राप्त प्रमाणहरूका आधारमा कोभिड १९ सङ्क्रमणको विरुद्ध विकास हुने प्रतिरोधात्मक क्षमता अत्यधिक बलियो र जीवनभरका लागि हुने निष्कर्षमा वैज्ञानिकहरु पुगेका हुन् ।
अष्ट्रेलियाका वैज्ञानिकहरूले गरेको यो अनुसन्धानले खोपबाट विकास हुने भन्दा राम्रो र प्रभावकारी प्रतिरोधी क्षमता कोरोना जितेका मानिसहरूमा बन्ने देखिएको हो । संक्रमण भएपछि मानिसहरूको शरीरमा हुने छोटो जीवनकाल रहेका प्लाज्मा ब्लाष्ट नामक कोषहरूबाट नै त्यस प्रकारको दीर्घकालीन रोग प्रतिरोधी क्षमता बन्ने देखिएको छ ।
मानिसहरूको शरीरमा रहेको मेमोरी बी नामक कोषले रगतसँगै यात्रा गरेर फेरि शरीरमा कोरोना भाइरसको संक्रमण हुन नदिन निगरानी गरिराख्छ । उता, बोन म्यारो भित्र रहेका प्लाज्मा कोषले भने यस प्रकारका बलिया र संक्रमण विरुद्ध लड्ने प्रतिरोधी कोषहरूलाई दशकौँसम्म जोगाएर राख्ने अध्ययनले देखाएको हो ।
नेचर डटकममा मे २४ तारिकमा प्रकाशित अध्ययन रिपोर्टमा वासिङ्टन विश्वविद्यालयका बी सेल इम्युनोलोजिष्ट अलि इलेबेडीले लेखेका छन्, ‘प्लाज्मा कोष वास्तवमै हाम्रो जीवनको इतिहास हो । त्यसले जीवनभरि धेरै कुरा साँचेर राख्ने गरेको हामीले देखेका छौँ ।’
कोरोना भाइरसले हाम्रो शरीरमा रहेका कोषहरूको निर्माणमा नै अवरोध सिर्जना गर्ने देखिएको छ । अध्ययनमा यस्तो देखिएपछि वैज्ञानिकहरू संक्रमण मुक्त भएपछि पनि मानिसहरूको शरीरमा रोग प्रतिरोधी क्षमता लामो समय बस्दैन भन्ने निष्कर्षमा पुगेका थिए । तर, पछिल्लो अध्ययनले पहिले गरिएका तीन अनुमानहरूलाई गलत साबित गरिदिएको छ ।
इलबेडीको टिमले कोरोनाबाट निकै अघि नै सामान्य रोग लागेर निको भएका ७७ जना मानिसहरूको प्रतिरोधी क्षमता अध्ययन गरेको थिए । अपेक्षा गरे अनुसार चार महिनापछि पनि रोग विरुद्ध प्रतिरोधी क्षमता बनेको देखियो । ११ महिनासम्म पुग्दा त्यसको मात्रामा केही कमी भए पनि त्यस्ता प्रतिरोधी कोषहरू हड्डी भित्र रहेको मासीमा सुरक्षित बस्ने गरेको देखिएको हो ।
अहिले कोरोना भाइरस विरुद्ध विकास गरिएका खोपहरूले पनि त्यस्तै प्रकारको प्रतिरोधी कोष विकास गर्ने हो । तिनीहरूले कति समयसम्म शरीरमा कोरोना प्रतिरोधी क्षमता विकास गरिराख्छन् भन्ने अहिलेसम्म पनि निश्चित भएको छैन । त्यसैले यो अध्ययन पछि उठेको महत्त्वपूर्ण प्रश्न के हो भने कोरोना जितेका मानिसहरूले अब कोरोना भाइरस विरुद्धको खोप लगाउन आवश्यक छ की छैन ?
प्रतिक्रिया दिनुहोस