aarthiknews.com विहीबार, २८ जेठ २०८३   Thursday, 11 June, 2026
 

महामारीकै बीच यी सुक्खा बन्दरगाह निर्माण धमाधम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० जेठ २०७८
महामारीकै बीच यी सुक्खा बन्दरगाह निर्माण धमाधम

काठमाडौं । काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह दुई महिनामा सम्पन्न गर्ने गरी २ सय ५० कामदारले निर्माण गरिरहेका छन्, रसुवाको सुक्खा बन्दरगाहको काम पुनः शुरु भएको छ । दोस्रो लहरको कोभिड महामारीकै बीच काठमाडैंको चोभारमा सुक्खा बन्दरगाह निर्माणको काम धमाधम अघि बढिरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर सुक्खा बन्दरगाह निर्माणको काम भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । 

अहिले सुक्खा बन्दरगाहमा दैनिक करिब २ सय ५० जना कामदारले कम गरिरहेका छन् । खासगरी अहिले भवन तथा गोदामहरूमा छानो (रुफ) हाल्ने, भुइँ ढलान गर्नेलगायतका विभिन्न काम भइरहेका छन् । कोभिडको जोखिम, श्रमिक मजदुरको तथा निर्माण सामग्रीको अभाव तथा ढुवानीमा अवरोधलगायत विभिन्न समस्याबीच पनि सुक्खा बन्दरगाह निर्माणको काम भइरहेको उनले बताए । ‘हामीलाई परियोजना दुई महिनाभित्र सक्नुपर्ने बाध्यता पनि छ, अर्कोतर्फ चुनौतीकै बीच कामचाहिँ हुनुपर्छ भन्ने मान्यता पनि राख्छौँ हामी,’ उनले भने, ‘त्यसैले कोभिडको जोखिमबीच सुरक्षा मापदण्ड अपनाउँदै बन्दरगाह निर्माणलाई अघि बढाइरहेका छौँ ।’

विश्व बैंकको सहयोगमा चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत सम्पन्न भइसकेको छ । सुक्खा बन्दरगाहको ठुल्ठूला संरचनाको निर्माण सम्पन्न भइसकेको र अब फिनिसिङका काम मात्र बाँकी छन् ।  

अगस्ट २०१८ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सुरुमा स्थानीयको अवरोध र पछि कोरोना महामारीका कारण समयमै काम सम्पन्न हुन सकेको छैन । सुक्खा बन्दरगाह म्याद तेस्रोपटक थपेर आगामी असार मसान्तसम्मलाई तोकिएको छ । असार मसान्तसम्म काम सक्ने गरी धमाधम काम भइरहेको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए । 

साबिक हिमाल सिमेन्ट कम्पनीको चोभारस्थित जग्गामा निर्माणाधीन सुक्खा बन्दरगाह २ सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति हुनेछ । भारत तथा चीनबाट आउने कन्टनेर सीधै काठमाडौं ल्याएर जाँचपास गर्न सकिने गरी सुक्खा बन्दरगाह निर्माण भइरहेको कार्यकारी निर्देशक गजुरेलले बताए ।

बन्दरगाहमा लोड–अनलोड भवन ३ वटा, गोदाम घर ३ वटा, प्रशासनिक भवन ३ वटा, कन्टेनर यार्ड, ट्रक पार्किङ, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन् । बन्दरगाहको कन्टेनर यार्डमा ४ सय ६४ वटा कन्टेनर राख्न मिल्छ । त्यस्तै, ३ सय ६० वटा ट्रकसमेत अटाउँछन् । बन्दरगाहलाई काठमाडौं–मधेस द्रुतमार्ग ९फास्ट ट्र्याक०, विद्यमान काठमाडौं–चक्रपथ र निर्माण हुने भनिएको बाहिरी चक्रपथसँग जोडिनेछ ।

दोस्रो लहरको कोरोना महामारीकै बीच रसुवा सुक्खा बन्दरगाहको निर्माण कार्य पुनः सुरु भएको छ । अघिल्लो वर्ष चीनमा कोभिड–१९ देखिएपछि रोकिएको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको निर्माण कार्य अघिल्लो डेढ सताअघि सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । 

चिनियाँ सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाह रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको छ । बन्दरगाह निर्माणको जिम्मा चिनियाँ पक्षले नै लिएको छ । ‘अघिल्लो वर्ष चीनमा कोभिड देखिनुभन्दा अलि अघिदेखि सुक्खा बन्दरगाह निर्माणको काम रोकिएको थियो,’ उनले भने, ‘१ मेमा चिनियाँ कामदार आएर काम पुनः सुरु गरेका छन् ।’ अहिले सुक्खा बन्दरगाहको फाउन्डेसनलगायतको निर्माण कार्य अघि बढिरहेको चिनियाँ पक्षले जानकारी गराएको उनले बताए । ‘पूर्ण क्षमतामा त काम अघि बढेको छैन,’ उनले भने, ‘तर, महामारीकै बीच काम सुरु भएको छ, आशा गरौँ, कामले निरन्तरता पाउनेछ ।’नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस