
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न जारी गरिएको निषेधाज्ञाको अवधि थप चार जिल्लामा लम्ब्याईएको छ । सिरहा, लमजुङ, मकवानपुर र पर्सामा निषेधाज्ञाको अवधि थप गरिएको हो ।
सिरहामा निषेधाज्ञाको समय १० दिन थप गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले यही जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।
सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । पछिल्लोपटक जेठ २१ गतेसम्म निषेधाज्ञाको समय थपिएकामा सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म लम्ब्याइएको प्रजिअ कणेँलले बताए । कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने जनाएको छ ।
यसैबीच कोभिड १९ का कारण आज मात्र सिरहामा चार जनाको मृत्यु भएको छ भने ५१ जनामा सङ्क्रमण पुष्टी भएको छ । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६३० रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
त्यस्तै, लमजुङमा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ । कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, “जिल्लामा कोरोना सङ्क्रमण व्यापक रुपमा फैलिँदै गइरहेकाले यसबाट नागरिकलाई बचाउनका लागि निषेधाज्ञा पुनः थप गरिरहेका छौँ ।”
सो बैठकले यस अवधिका मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नका लागि आवश्यक देखिएकाले बैँक, वित्तीय संस्था र सहकारी संस्थाहरु हप्तामा दुई दिन आइतबार र बिहीबार दुई÷दुई घण्टा खोल्ने निर्णयलाई यथावत् राख्ने निर्णय गरेको बताइएको छ । त्यस्तै, जिल्लाभित्र सञ्चालन हुने ढुवानीका साधनलाई बेलुका ६ बजेदेखि बिहान ९ बजेसम्म र जिल्ला बाहिरबाट यस जिल्लामा प्रवेश गर्ने ढुवानीका साधनलाई बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र आवतजावत गर्न दिने निर्णय पनि यथावत रहेको जिल्ला प्रशासनले जनाएको छ ।
जिल्लामा गत वैशाख २८ गतेदेखि करिब एक÷एक हप्ता गर्दै जारी निषेधाज्ञा तेस्रोपटक निषेधाज्ञाको म्याद थप गरेको हो । जिल्लामा हालसम्म एक हजार ११४ जना कोरोना सङ्क्रमित पुगेको छ । त्यस्तै हालसम्म १७ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरि, मकवानपुरमा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर जेठ ३१ गतेसम्म पु¥याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्नलगायतका पसलहरु बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । खोपेगल्ली र बसपार्कको तरकारी पसल तथा मण्डी र डिपार्टमेन्ट स्टोर्सहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै यसअघि जारी भएको हेटौंडाको मुख्य बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय हटाइने भएको छ । बैठकले बैंक तथा मनिट्रान्सफरहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको तीन दिन आइतबार, मङ्गलबार र विहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसैगरी कामदार कर्मचारीलाई उद्योग परिसरमै बस्ने र खाने व्यवस्था मिलाएर वा घरबाटै लाने ल्याउने व्यवस्था गरेर उद्योग सञ्चालन गर्न सक्ने बैठकले निर्णय गरेको छ ।
यसैगरि, कोरोना सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न स्थानीय प्रशासनले जिल्लामा जारी निषेधाज्ञालाई १० दिनका लागि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आज बसेको बैठकले पर्सामा जारी जेष्ठ २० गते राति १२ बजेसम्म रहेको निषेधाज्ञालाई ३० गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा सबेको बैठकले कोरोना सङ्क्रमणको श्रृङ्खला तोडन र फैलिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्दै सङ्क्रमितको उचित उपचार तथा व्यवस्थापन गर्न १० दिनका लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको छ । बैठकले अत्यावश्यक काम नभए घरमै बस्न जिल्लावासीलाई अपिल गर्दै नेपाल सरकारले निर्धाण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवामा प्रयोग हुने र जिल्ला प्रशासन कायालयले अनुमति दिएकाबाहेका दुई पाङ्ग्रेसहित सबै सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस