
एजेन्सी। विश्वको एउटा कुनामा खोप कहिले लगाउन पाइएला भन्ने व्याकुल प्रतीक्षा छ। अधिकांश तेस्रो ध्रुवका मुलुकहरूका सरकार कसरी खोपको जोहो गर्ने र आफ्ना नागरिकको कोरोना महामारीबाट सुरक्षित रहने अभिलाषा पुरा गर्ने भन्नेमा चिन्तित देखिन्छन्। तर, यही पृथ्वीको अर्को कुनो जसलाई हामी धनी र विकसित मुलुक भन्छौँ त्यहाँको कथा बेग्लै छ।
अमेरिकाका कतिपय राज्य सरकारले नागरिकलाई खोप लगाउन उत्प्रेरित गर्न आकर्षक योजना र लोभ्याउने पुरस्कारको घोषणा गरेका छन्। क्यालिफोर्निया, कोलोराडो, मेरील्याण्ड, न्यू जर्सी र ओहायो सहित केही राज्यहरूले खोप लगाउन प्रोत्साहन कार्यक्रम नै सञ्चालन गरेका छन्। उनीहरूले यस्तो कार्यक्रमले खोप प्रति अनिच्छुक वयस्कहरूलाई खोप लिन प्रोत्साहित गर्छ भन्ने विश्वास लिएका छन्।
सीएनएनका अनुसार हालै वेस्ट भर्जिनियाले समेत यस्तै घोषणा गरेको छ। त्यहाँ खोप लगाउनेलाई चिठ्ठा मार्फत ट्रिक ट्र्याक गरिएको ट्रक, सिकार खेल्ने राइफल, कलेजको लागि छात्रवृत्ति, र १५ लाख अमेरिकी डलरको ठुलो पुरस्कार जित्ने अवसर समेत उपलब्ध गराइने कुरा सार्वजनिक गरिएको छ।
"हामी छिटो भन्दा छिटो मान्छेलाई अन्तिम रेखा पार गराउन चाहन्छौँ, हामी मानिसको ज्यान बचाउँछौँ र सके जति धेरैलाई बचाउँछौँ", गभर्नर जिमले मङ्गलवार भने। राज्य सरकारले घोषणा गरेको कार्यक्रमबारे जानकारी दिँदै उनले थपे "तपाईँले कुनै चीज जित्नु सक्नुहुन्छ जुन असाधारण हुनेछ।"
वेस्ट भर्जिनियाले खोप लगाउन मानिसहरूलाई घरबाट बाहिर निकाल्ने र खोप केन्द्रसम्म पुर्याउने उत्तम तरिका के हो भने उनीहरूलाई निःशुल्क ट्रक र बन्दुक जित्ने मौका प्रदान प्रदान गरेको छ। त्यस अलावा त्यहाँको सरकारले कलेजमा छात्रवृत्ति र १५ लाख डलरसम्म पुरस्कारको समेत घोषणा गरेको छ जुन चिठ्ठाबाट प्रदान गरिने छ।
दोस्रो नगद पुरस्कारको रूपमा ५ लाख ८८ हजार डलर राखिएको छ भने खोप लाउनेले आजीवन सिकार गर्ने अनुमति पत्र र त्यसको लागि बन्दुक, माछा मार्ने अनुमति पत्र र राज्य पार्कहरूमा छुट्टीको समयमा निःशुल्क घुम्ने अवसर प्राप्त हुने छ। त्यहाँका गभर्नरको आशा छ कि यसले सो राज्यमा खोपको दर बढाउनेछ।
प्रतिक्रिया दिनुहोस