aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अमेरिकाले दिने खोपको सङ्ख्या कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ जेठ २०७८
अमेरिकाले दिने खोपको सङ्ख्या कति ?

काठमाडौं। नेपाल सरकारले खोप मागेको केही दिनमा नै अमेरिकाले नेपाललाई ठुलो मात्रामा खोप दिने घोषणा गरेको छ। नेपाल लगायत दक्षिण एसियाली अन्य मुलुक सहित विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने अमेरिकाले घोषणा गरेको छ ।

अमेरिकाले नेपाल लगायत एसियाका विभिन्न १६ वटा देशलाई कोभ्याक्समार्फत ७० लाख डोज खोप उपलब्ध गराउने भएको जनाएको छ । नेपालले ठ्याक्कै कति डोज  खोप प्राप्त गर्ने छ भन्ने परिमाण बारे भने खुलाइएको छैन । तथापि नेपालले कम्तीमा ५० लाख डोज खोप अमेरिकाबाट प्राप्त गर्ने अनुमान गरिएको छ। 

नेपालस्थित अमेरिकी दूतावासले आफ्नो ट्विटरमार्फत कोरोना विरुद्धको खोप दिने घोषणा गरेको जानकारी गराएको हो । अमेरिकाको उक्त घोषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत धन्यवाद दिएका छन् ।

उनले कोभिडविरुद्ध खोप उपलब्ध गराउने घोषणामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिएका हुन् । प्रधानमन्त्री ओलीले उक्त घोषणाले नेपाल र अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने पनि ट्विटमार्फत व्यक्त गरेका छन् ।

अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको हो। त्यसमध्ये १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका छन्।

अमेरिकाले संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ। त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिइने उनले बताए। हाल गरिएको घोषणा विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो।

प्रतिक्रिया दिनुहोस