काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्री गुरुङले यसै साता बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्री गुरुङले मन्त्रीपरिषदको बैठकले मेलम्ची खानेपानी वितरण गर्दा भएको चुहावट टाल्नका लागि १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको बताए । खानेपानी मन्त्रालयको प्रस्तावमा सो रकम निकासा गरिने भएको हो ।
त्यस्तै, बैठकले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको पनि बताए । जर्मनीको राजधानी वर्लिन सरेपछि लामो समयदेखि बोनमा रहेको ५.६१ रोपनी जग्गा र घर बिक्री गर्ने निर्णय गरेको हो ।
यस्तै, मन्त्रिपरिषद बैठकले नेपालको स्वास्थ्य क्षेत्र सुधार आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । साथै, बैठकले परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ । २०७५ सालमा ल्याइएको सो कार्यविधि अनुसार राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाबाट कम्तिमा ५० प्रतिशत पर्नेगरी नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएको छ ।
त्यसैगरि आगामी आर्थिक वर्ष २०७८÷८९ को वजेटमा गरिएको व्यवस्थाबारे जानकारी दिँदै मन्त्री गरुङले अब अनलाइन पत्रिकालाई पनि लोककल्याणकारी विज्ञापन पाउने बताए । यसअघि छापा पत्रिका र रेडियो–टेलिभिजनलाई मात्रै लोककल्याणकारी विज्ञापन दिने व्यवस्था थियो ।
यसैगरि, सरकारले भारतबाट सरकार–सरकारबीचको सम्झौता अर्थात् जी टू जी मोडलबाट रसायनिक मल किन्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको छ । साथै, चीनले अनुदानमा दिने तीन हजार थान अक्सिजन सिलिन्डर स्वीकार गर्ने, हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने, प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने लगायतका निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस