
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतले नेपाललाई खोप दिनुपर्ने दाबी गरेका छन्। बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्री नेपाली नागरिकले गोर्खा ब्रिटिस सेनाका रूपमा गरेको योगदानको कारण पनि नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएको समेत बताएका हुन्।
‘गोर्खा सैनिकहरूले उनीहरूको जीवनलाई नै खतरामा राखेर धेरै वर्षदेखि बेलायतमा काम गरिरहेका छन्,’ ओलीको भनाइ छ, ‘बेलायतमा काम गरिरहेका धेरै गोर्खा सैनिकका परिवार नेपालमा छन्, त्यसैले दुई मुलुकको बिचमा बलियो कनेक्सन छ ।’ ओलीले त्यसअघि बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन टेलिफोन गर्दै आग्रह गरेका थिए।
ओलीले बीबीसीलाइ भनेका छन्, ‘म बेलायत सरकार र विशेष गरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले भोगिरहेको समस्याबारे जानकारी गराउन चाहन्छु। बेलायतमा रहेका गोर्खा सैनिकहरूको योगदानका कारण बेलायतले कोभिड सहयोगमा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।’
उनले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले खोपका लागि सिधै आग्रह गरिएको समेत उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालले जनतालाई भ्याक्सिन लगाइदिएमा कोरोना नियन्त्रण आउने नत्र नियन्त्रणमा कठिन हुने समेत बताएका छन् ।
नेपालले खोप मागेको विषयमा प्रतिक्रिया दिँदै बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोरोना महामारीसँग लड्न बेलायत नेपालसँगै रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस