aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मनाङवासीमा यस्तो छ कोरोनाको कहर

  • रासस
    रासस
  • शनिबार, २२ जेठ २०७८
मनाङवासीमा यस्तो छ कोरोनाको कहर

काठमाडौँ। गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुलजार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावले गत वर्षको फागुनदेखि धराशायी बनेको यहाँको पर्यटन क्षेत्र कोरोना कहर मत्थर हुँदै जाँदा बिस्तारै लयमा आउने क्रममा थियो ।  नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरको महामारी सुरु भएसँगै गत वैशाख १० गतेदेखि पुनः यहाँको पर्यटन क्षेत्र सुस्ताएको हो । 

देशभरका मुख्य सहरमा कोरोना सङ्क्रमित बढेसँगै वैशाखदेखि लकडाउन सुरु भयो । देशभर कोरोना महामारी बढेसँगै कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग थोरङ्ला भञ्ज्याङ, तिलिचो ताल जस्ता महत्त्वपूर्ण गन्तव्य आन्तरिक तथा बाह्य पर्यटकका लागि बन्द गर्ने निर्णय गरियो ।

बर्सेनि ६० हजार विदेशी पर्यटक र करिब तीन लाखको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने जिल्लामा नयाँ भेरियन्टको कोरोना प्रभावले सुनसान भएको होटेल व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए। बर्सेनि हिउँदयामको जाडो मौसमपछि गुलजार हुने मनाङ कोरोना कहरका कारण प्रतिकूल असर पुर्‍याएको उनले सुनाए ।

कोरोनाको पहिलो लहरपछि आशा जगाएको यस पर्यटन क्षेत्रमा दोस्रो लहरले पर्यटकीय क्षेत्रलाई ठुलो क्षति पुगेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्रको वार्षिक तथ्याङ्कअनुसार जिल्लामा बर्सेनि मार्चदेखि जुलाईसम्म प्रत्येक महिना सात हजारदेखि १४ हजारसम्म विदेशी पर्यटक आउने गर्थे । चैतदेखि हजारौँ आन्तरिक पर्यटक  विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल जानका लागि यहाँ आउने गर्छन् ।

यस वर्ष कोरोना कहरका कारण बन्द हुँदा पर्यटकीय गन्तव्य सुनसान छन् । कोरोनाको दोस्रो भेरियन्ट अघि देशका ठुला सहरदेखि मोटरसाइकल र चार पाङ्ग्रे सवारी साधना लमजुङ सदरमुकाम बेँसीशहरदेखि लाम लाग्ने गर्दथे । कोरोना महामारीको पहिलो लहरले थलिएको मनाङको पर्यटन व्यवसायमा केही आशा जगाए पनि कोरोनाको दोस्रो लहरले पुनः यहाँका पर्यटन व्यवसायीमा थप पीडा थपिदिएको चामे गाउँपालिकास्थित हिमालयन होटेल सञ्चालक सीता गुरुङ बताउँछिन्।

बर्खायामको वसन्त ऋतुसँगै अनुकूल खुल्ला मौसममा पनि कोरोना कहरले प्रताडित बनाएको यहाँको पर्यटनमा व्यवसायीसमेत कोरोना त्रासमा छन् । यहाँको प्रमुख पर्यटकीय गन्तव्य तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, मनासलु क्षेत्र, चामेको तातोपानी कुण्ड, सिङ्गर ताल, गङ्गापूर्ण ताल, काङ्ला पासलगायत हिमाल आरोहणमा आउने बाह्य तथा आन्तरिक पर्यटक मनाङ भित्रिएका छैनन् । 

अहिले जिल्लामा झन्डै एक हजारभन्दा बढी होटेल तथा रेस्टुरेन्ट पूर्णपुरमा बन्द अवस्थामा छन् । कोरोनाले सिर्जना गरेको लकडाउनले यो जिल्ला सुनसान बनेको पर्यटन व्यवसायीको भनाइ छ । कोरोनाका कारण पहिलो पटक जिल्लामा ज्यान गएपछि यहाँका मानिस त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस