aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सर्वसाधारणदेखि उद्योगी, व्यवसायीको लगानी शेयर बजारमा केन्द्रीत हुँदा नयाँ उचाइ

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, २४ जेठ २०७८
सर्वसाधारणदेखि उद्योगी, व्यवसायीको  लगानी शेयर बजारमा केन्द्रीत हुँदा नयाँ उचाइ

काठमाडौं । कोभिड–१९ को महामारी र यसको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण आर्थिक गतिविधि सुस्ताए पनि शेयर बजारमा भने उत्साह कायमै छ । अनलाइनमार्फत जुनसुकै स्थानबाट समेत कारोबार गर्न सकिने व्यवस्थाका कारण आम सर्वसाधारणदेखि उद्योगी, व्यवसायी शेयरमा लगानी गर्न केन्द्र्रीत हुँदा शेयर बजार नयाँ उचाइमा पुगेको हो ।

कोभिडका कारण आर्थिक गतिविधि सुस्ताउँदा अर्थतन्त्रको सूचक मानिने शेयर बजार भने निरन्तर उकालो लागिरहेको छ । चालु आर्थिक वर्षमा मात्र शेयर बजार सूचक दोब्बरभन्दा बढीले वृृद्धि भएको छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १३६२.४ अंकमा बन्द भएकोमा जेठ २३ गतेसम्ममा ११३ प्रतिशतले वृद्धि भएको छ ।

निषेधाज्ञाको समयमा अनलाइनमार्फत सहज कारोबारको पहुँचले गर्दा व्यापारीहरुले छोटो अवधिका लागि भएपनि आफूसँग भएको रकम पुँजी बजारमा परिचालन गरेका छन् । यसैगरी बैंकहरुले पनि सस्तो व्याजदरमा मार्जिन ल्यान्डिङ गर्दै आएको छन् । जसको प्रभाव बजारमा सकारात्मक देखिएको हो ।
गत वर्ष निषेधाज्ञाका कारण लामो समय बन्द रहेको बजार यस वर्ष भने निरन्तर सञ्चालन भइरहेको छ । बजारमा दिनहुँजसो नयाँ नयाँ रेकर्ड कायम भइरहेको छ ।

साताको पहिलो दिन आइतबार पनि नेप्से सूचक ७.८८ प्रतिशतले वृद्धि हुँदा हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ । यसदिन नेप्से ५०.१३ अंकले वृद्धि भई २९०६.८९ अंकमा पुगेको छ ।

आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । यसदिन २१८ कम्पनीका ३ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा १७ अर्व २७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

आइतबार सेयर बजारमा प्रभुत्व भएको बैंक तथा वित्तीय संस्थाका परिसूचक उकालो लाग्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बैंकिङ ७९.८५ अंकले वृद्धि हुँदा विकास बैंक ९६.३१ र फाइनान्स कम्पनी समूह २७।७२ अंकले बढेका छन् । यसैगरी लघुवित्त ४.२८, अन्य ६६.९४, लगानी ४.०३ र म्युचुअल फण्ड ०.२४ अंकले वृद्धि भएको छ । केही समययता उच्च वृद्धि देखिएका जलविद्युत, होटल तथा टुरिजम, निर्जीवन र जीवन बिमा भने आइतबार ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस