
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ। कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो। त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङको भनाइ छ।
भन्सार विभागले नायबसुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्यालयमा हाजिर भएका छैनन्। तर, कर्मचारीले स्थानीय भत्तासहित तलब बुझ्ने गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार गत आर्थिक वर्ष १५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। कार्यालयको खर्च भने १७ लाख ३५ हजार रुपैयाँ भयो।
स्थानीयका अनुसार भन्सारको कारोबार अपारदर्शी थियो। वडाध्यक्ष छेतेन भोटेले २०७२र७३ मा एकैपटक ६५ हजार राजस्व तिरेका थिए। तर, सोही वर्ष कार्यालयले राजस्व १८ हजार मात्रै जम्मा गरेको पाइएको छ। कर्मचारीका लागि भने १६ लाख ७८ हजार खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
गाउँपालिका प्रवक्ता वालुङका अनुसार तीन वर्षअघिसम्म भन्सारले ‘ श्री ५ को सरकार’ लेखिएकै रसिद दिने गरेको थियो। यो वर्ष भने राजस्व शून्य छ। ‘चीन र नेपाल दुवैतर्फ ठूलो परिमाणमा जडीबुटी, पशुचौपाया र तयारी सामान आयात–निर्यात हुन्छ’, उनले भने, ‘तापनि, त्यसको तथ्यांक राखेर राजस्व लिने निकाय लामो समयदेखि बन्द छ।’
कार्यालयमा एक नायबसुब्बा, दुई खरिदार र एक कार्यालय सहयोगीको दरबन्दी छ। तत्कालीन कार्यालय प्रमुख शेरबहादुर चेम्जोङ तीन वर्षअघि सरुवा भएपछि अरू कर्मचारी नआएको वडाध्यक्ष भोटेले बताए। ‘त्यसयता यहाँका लागि को कर्मचारी खटिएको छ भन्ने पनि थाहा छैन’, उनले भने, ‘म वडाध्यक्ष भएपछि विभागमा बुझ्ने प्रयास गरें। कर्मचारी खटाएको ठाउँमा उपस्थित हुनुपर्ने हो। तर, कहाँ छन्, कहाँ हाजिर गर्छन् भन्ने थाहा पाउन सकिएन।’
कार्यालय बन्द रहेको विषयमा भन्सार विभाग बेखबर छ। यहाँ खटिएका कर्मचारी सम्पर्कमा नरहेको विभागका सूचना अधिकारी शिशिर घिमिरेको भनाइ छ। ‘त्यहाँ चार जनाको दरबन्दी भए पनि विभागले नासु विजय श्रेष्ठलाई खटाएको छ’, उनले भने, ‘उनीसँग सम्पर्क छैन।’ भौगोलिक रूपमा टाढा रहेकाले अरू जानकारी आफूसँग नरहेको उनले सुनाए। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले पनि त्यहाँ को कर्मचारी खटिएको छ भन्ने आफूलाई थाहा नभएको बताए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस