aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अवैध विदेशीको आखडा बन्दै पोखरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ असार २०७६
अवैध विदेशीको आखडा बन्दै पोखरा

पोखरा । पर्यटकीय सहर पोखरामा अवैध रुपमा बस्दैआएका विभिन्न देशका २१ विदेशी नागरिक पक्राउ परेका छन् । २०७५ को साउन महिनादेखि २०७६ को असार १६ गतेसम्मको अवधिमा पर्यटक भिसामा आएर विभिन्न पेशा, व्यवसाय गरेर पोखरा बस्दै आएका र पासपोर्ट र भिसा विना नै पोखराका विभिन्न स्थानमा बस्दै आएका गरी २१ जना विदेशी नागरिकलाई पर्यटक प्रहरी कार्यालय पोखराले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै ७ जना रुसका नागरिक छन् । रसियन पर्यटकहरुमध्ये ४ जना भिसाको म्याद सकिएर पनि अवैध रुपमा बस्दै आएको पाइएको हो । तीनजना रुसका नागरिक पासपोर्ट नै च्यातेर अवैध रुपमा बस्दै आएको सूचनाको आधारमा पक्राउ परेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सायक निरीक्षक विधान सिंह क्षेत्रीले बताए ।

पक्राउ पर्नेमा तीनजना लेबनानको नागरिक छन् । अली सेलेमन उनका दुई छोरी मेरियम रहमे र फटमे भिसाको म्याद सकिएपछि पनि अवैध रुपमा बस्दैआएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । दुई छोरीहरुले प्याराग्लाईडिङको कोष समेत गर्दै गरेका थिए । यसरी पक्राउ गर्नेमा नेदरल्याण्डका दुई नागरिक पनि छन् । उनीहरुमध्ये एक जना पासपोर्टको भिसा नै सकिएको अवस्थामा र अर्को एकजना पासपोर्ट विना नै पोखरामा बस्दैआएको अवस्थमा पक्राउ परेका हुन् ।

यस्तै यमन, तिब्बत, फिलिपिन्स, बेलायत, डेनमार्क, टर्की, फ्रान्स, जर्मन र केन्याका पर्यटक पनि अवैध रुपमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक टीकाराम पौडेलले जानकारी दिए ।

पोखराको लेकसाइडमा दश वर्षदेखि बस्दै आएका जर्मन नागरिक लुजीफर प्लेस गत चैत १३ गते स्थानीयसँग झगडा गरेपछि स्थानीयले प्रहरीलाई खवर गरे । घट्नाको छानबिनको क्रमममा पासपोर्ट लगायत उनको परिचय खुल्ने केही कागजपत्र भेटिएन । प्रहरी अनुसन्धान पछि उनी दश वर्षदेखि पोखराको लेकसाइडमा गैरकानुनी रुपमा बस्दै आएका जर्मन नागरिक रहेको प्रहरीले पत्ता लगाएपछि पर्यटक प्रहरी कार्यालय पोखराले अध्यागमन कार्यालय हुँदै अध्यागमन विभाग काठमाडौंमा बुझाईयो । 

यसरी पोखरामा पछिल्लो समयमा नागरिकले दिएको सूचनाको आधारमा अवैध रुपमा बस्ने र विभिन्न कारोवार गर्ने विदेशी नागरिक धमाधम पक्राउ पर्न थालेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 
 

प्रतिक्रिया दिनुहोस