aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

आयुर्वेदिक चिकित्सकको गुनासो-'कोरोना निको पार्यौं भन्नेले भ्रम छरे'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ जेठ २०७८
आयुर्वेदिक चिकित्सकको गुनासो-'कोरोना निको पार्यौं भन्नेले भ्रम छरे'

काठमाडौं । पछिल्लो समय मुलुकमा आयुर्वेदिक औषधिको प्रयोग बढ्न थालेको छ । आधुनिक चिकित्सा विज्ञानले विश्वभर फैलिरहेको कोभिड-१९ को औषधि बनाउन नसकेपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोग बढेको हो । 

कतिपय आयुर्वेद चिकित्सक तथा औषधालयहरूले समेत कोरोना निको पार्ने भन्दै विभिन्न प्रकारका औषधि बिक्री वितरण गर्ने गरेको पाइन्छ । आयुर्वेदिक औषधिले कोभिड सङ्क्रमितलाई कस्तो लाभ पुर्‍याइरहेको छ ? कोरोना भाइरसको सङ्क्रमण नै हुन नदिन यस्ता औषधिको प्रयोगकर्ताले कस्तो फाइदा लिइरहेका छन् ? भन्ने विषयमा ठोस अध्ययन अनुसन्धान नभए आयुर्वेदिक औषधिको बिक्री भने बढ्दो छ। 

मूलतः रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सर्वसाधारणले आयुर्वेदिक औषधिको प्रयोग गर्ने गरेका छन् । जसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ त्यस्तालाई कोरोना भाइरस सङ्क्रमण भइहाले पनि ठुलो असर गर्दैन भन्ने मान्यताका कारण आयुर्वेदिक औषधिको प्रयोग बढेको हो । आयुर्वेदिक औषधिको नकारात्मक असर (साइड इफेक्ट) हुँदैन भन्ने विश्वासले पनि सर्वसाधारणले निश्चिन्त भएर यसको उपभोग गर्ने गरेको पाइन्छ। 

आयुर्वेदिक औषधी एक सिद्धान्तमा रहेर बनाइन्छ। यो पाँच हजार वर्ष भन्दा पहिलेको मौलिक रैथाने चिकित्सा पद्धतिलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएच्ओ)ले समेत मान्यता दिएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र कीर्तिपुरका डा. विकास घिमिरे बताउँछन् । उनका अनुसार, “रोग प्रतिरोधात्मक क्षमता बढाउने क्रियाहरू, खानपिन, जीवनशैली परिवर्तन, औषधी, आहार, व्यायाम र साथमा जडीबुटीको प्रयोग एकदमै राम्रो हुनसक्ने देखिएको छ।” 

कुनै पनि बिरामी वा सङ्क्रमण शत प्रतिशत आयुर्वेदिक औषधीले नै निको हुन्छ भन्ने कहीँ कतै नदेखिएको डा. घिमिरे बताउँछन् । अहिलेको कोरोना महामारीमा पनि जसले मिलाएर प्रयोग गरेको छ त्यस्तालाई राम्रो गरेको उनको दाबी छ। "खानपिनलाई ध्यान नै नदिने तर अक्सिजन चाहिन्छ भन्ने गर्दा रोग निको हुँदैन न अक्सिजन आवश्यक देखिएको बेला म खानपिनमा ध्यान दिन्छु अक्सिजन पर्दैन भनेर पनि हुँदैन। त्यसैले बुद्धिमत्तापूर्वक जति पनि विधि छन् ध्यान दिएर तिनको प्रयोग गर्दा शरीरलाई फाइदा नै पुग्छ।"  डा. घिमिरे थप्छन्। 

आधुनिक एलोपेथिक उपचार पद्धति शल्यक्रिया (सर्जरी) र आपतकालीन अवस्थामा जहिले पनि अरूभन्दा अगाडी नै रहेको डा. घिमिरे बताउँछन् । स्वास्थ्य जीवनशैली, तनाव व्यवस्थापनका कुराहरू देखि लिएर स्वस्थ कसरी रहने भन्ने कुरामा आयुर्वेद धेरै राम्रो रहेको पनि उनले दाबी गरे । 

जसले यो कोरोना महामारीमा आयुर्वेदिक वस्तु प्रयोग गरेका छन् उनीहरूले सकारात्मक  प्रतिक्रिया दिएका उनले बताए। आफूले २० वर्ष देखि आयुर्वेदको अभ्यासमा नै लागिरहँदा यसको पक्ष राम्रो नै देखिरहेको बताउँदै उनले पछिल्लो दिनमा आएका हल्लाहरूले भने राम्रो सन्देश नगएको उनको बुझाई छ। उनी भन्छन्, "कतिपय गलत, भ्रामक र सनसनी फैलाउने खालको सूचनाहरू पनि आयुर्वेद नाममा आएका छन्। कतिपयले 'कोरोना निको भयो, निको भयो' भन्छन्।  कोरोना निको हुने चिज नै होइन। कोरोना सहज भयो, नेगेटिभ अवस्थामा ल्याउन त्यो औषधिले सहयोग गर्‍यो भन्न सकिन्छ। कसैले निको बनाए कसैले भन्छ भने त्यो गलत हो।" 

आयुर्वेदमा अझै पनि जडीबुटीको बारेमा भने जस्तो अनुसन्धान भने  नभएको डा. घिमिरे स्विार्काछन्। जडीबुटीको बारेमा संस्कृतमा लेखिएको कुरालाई नखोतली अहिलेका पुस्ताले वैज्ञानिक 'प्यारामिटर'मा हेर्ने भएकोले ज्ञानको अभाव (ल्याक अप नलेज)को कारणले आयुर्वेद अलि छायामा परेको उनको बुझाई छ।  कुरा गर्ने सिलसिलामा उनले आयुर्वेद त जन्मेदेखि नै सबैले प्रयोग गर्दै आइरहेको औषधी हो भनेर स्मरण गराइरहे ।

अहिले यो कोरोनाको बेला विशेष गरी श्वासप्रश्वास सम्बन्धी रोगहरू, रोगको प्रतिरोध क्षमता बढाउने लगायतका जडीबुटीहरू धेरै प्रयोगमा आएका छन् । जस्तै गुर्जो, बेसार, तुलसी लगायतका बस्तुको प्रयोग समेत चिकित्सकको परामर्शमा अनुसार गर्नुपर्ने हुन्छ। आयुर्वेदमा पनि धेरै मात्रा प्रयोग गर्दा समस्या देखा पर्ने हुँदा चिकित्सकको सल्लाह बमोजिम नै प्रयोग गर्न डा. घिमिरे सल्लाह दिन्छन् । भान्सामा प्रयोग हुने कुराहरूले पनि कोरोना सङ्क्रमितलाई सहज भएको उनी बताउँछन् । जस्तै: ल्वाङ, अलैची, जिरा, टिमुर, ज्वानोका चिजहरू लगायत जेठी मधु, अश्वगन्धा, अमलाको प्रयोग एकदमै धेरै प्रयोग भएको उनले बताए । 

आयुर्वेदले 'पुरुषम् पुरुषम् दिक्तम्' भन्छ जसको अर्थ सबै मान्छे आफैमा फरक छन् मात्रा मिलाउनु पर्ने हुन्छ। खाने तरिका, व्यायाम लगायतका कुरामा परामर्श लिएर मात्र औषधी दिने गरेको डा.घिमिरे बताउँछन् । विगतका वर्षहरू भन्दा अहिले यो कोरोना महामारीको बेला आयुर्वेदिक जडीबुटी तर्फ आम मानिसहरूको आकर्षण बढी गइरहेको उनले बताए । 

त्यस्तै परामर्श, उपचार लगायतका जडीबुटीहरू वितरण गरेर अहिले यो कोरोना महामारीमा आम मानसमा सहयोग गरिरहेको आयुर्वेद परामर्श विज्ञ डा. सुरेश महर्जनले बताए । हाल आयुर्वेदिक सहकर्मीहरूले जिल्ला जिल्लामा आफ्नो आफ्नै तरिकाले काम गरिरहेका छन् । चितवन जिल्लामा आफ्नै आइसोलेसन सेन्टर, काभ्रेमा प्रत्येक वडाको घर घरमा गएर निःशुल्क उपचार, मकवानपुरमा दुई वटा आइसोलेसन सेन्टरबाट सेवा र १३ वटै जिल्लाहरूमा कोरोना पोजेटिभ देखिएकाहरूलाई उचित परामर्श, व्यायाम र उपचार दिइरहेको डा. महर्जनले बताए । 

अहिले कोरोना पोजेटिभहरूलाई यष्टी मधु चूर्ण, गुड्ची चूर्ण, कस्तुरी भुषण, अल्ट्रा इम्युन र च्यावनप्राश दैनिक रूपमा खानको लागि प्रदेश सरकारको तर्फबाट जिल्ला स्वास्थ्य केन्द्रले निःशुल्क उपलब्ध गराइरहेको उनले बताए । हाल प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र सम्बन्धित १३ वटा जिल्ला आयुर्वेदिक केन्द्रहरुले सो वितरण गरिरहेका उनले जानकारी दिए । बिरामीलाई लक्षणको आधारमा अन्य उपचार र औषधी उपलब्ध गराउने गरेको उनले बताए । 

आयुर्वेदको आइसोलेसनले बिरामीलाई एकदमै फुर्तिलो राख्ने, मनोबल उच्च बनाई राख्ने, समय समयमा मनोरञ्जन लगायत अन्य काममा व्यस्त गरेका  कारण उनीहरूमा आफू बिरामी छु भन्ने अनुभूति नै नहुने गरेको डा. महर्जनले बताए । सबै भन्दा बढी योगा, खानपिन, औषधी सेवन र मनोरञ्जनमा विशेष जोड दिएर उपचार गरी रहँदा बिरामी चाँडो निको भइरहेको उनले बताए । 

आयुर्वेद जन्मेदेखि मृत्युपर्यन्त केही न केही रूपमा प्रयोग गरिरहेका छौ जुन हाम्रो संस्कारसँग पनि जोडिएको छ । यसले नसर्ने रोगमा मात्र नभई सर्ने रोगमा पनि राम्रो काम गर्ने गर्दछ।  कोरोना, डेंगो लगायत रोगमा पनि यसले सङ्क्रमित ठिक पार्न ठुलो भूमिका खेलेको छ । आयुर्वेदले विशेष गरी प्रतिरोधी क्षमता बढाउने गरेको छ । कोरोना सङ्क्रमितलाई आयुर्वेदिक जडीबुटी र औषधीले एकदमै फाइदा नै गरेको उनको डा. महर्जनको निष्कर्ष रहेको छ ।  

प्रतिक्रिया दिनुहोस