
मुगु । मदिरा सेवन गरेको आरोपमा प्रहरीले दुई मजदुरमाथि निर्घात कुटपिट गरेको छ । खत्याड गाउँपालिकको एक काष्ठ उद्योगमा कार्यरत खत्याड गाउँपालिका-९ का ३० वर्षीय टक्क भण्डारी र सोही गाउँपालिका-४ का २९ वर्षीय तिलक रोकायालाई प्रहरीले निर्घात कुटपिट गरेको हो ।
गाउँपालिकाको अस्थाई सदरमुकाममा रहेको माथिचौर अस्थाई प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएर मदिरा सेवन गरेको भन्दै कुटपिट गरेको पीडितको भनाइ छ। काम सकेर साँझ मदिरा सेवनपछि सोमबार साँझ टक्क भण्डारी नजिकैको पसलमा चुरोट किन्न गएका थिए। उनको पसलमा चुरोट किन्न जाँदा स्थानीय युवासँग सामान्य विवाद भएको थियो।
मदिरा पिएर विवाद गरेको नाममा प्रहरीले नियन्त्रणमा लिएर लाठी, बुट, मुक्काले हानेको पीडित भण्डारीको भनाई छ । खत्याड गाउँपालिकाले आफ्नो सबै वडामा मदिरा निषेध गरेको छ।
मदिरा सेवन गर्ने र विक्री वितरण गर्नेलाई गाउँपालिकाले चार-चार हजार जरिवाना तोकेको छ। प्रहरीले नियन्त्रणमा लिएर नियम अनुसार जरिवाना गर्नुको साटो निर्घात कुटपिट गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
प्रहरीले भण्डारीलाई १६ गते पक्राउ गरेको थियो। भने उनका साथी रोकायलाई १७ गते पक्राउ गरेको हो। दुवैजनालाई प्रहरीले निर्घात कुटपिट गरेको हो । निर्घात कुटपिटपछि प्रहरीले चार-चार हजार जरिवाना गर्ने कागजपत्रसमेत गराएको पीडित भण्डारीले बताए। कुटपिटबाट घाइते भएका दुवै जना उपचार खर्च अभावमा घरमै बसेका छन् ।
प्रतिक्रिया दिनुहोस