
काठमाडौँ। कोभिड महामारीको कारण भारतीय अर्थतन्त्र समेत ध्वस्त भएको बेला त्यसबाट बाहिर निस्कने उपायहरूबारे निरन्तर छलफल भइरहेको बेला अर्थतन्त्र सही ठाउँमा ल्याउन त्यहाँ रिजर्भ बैंकले थप नोट छाप्नु ठिक हो वा बेठिक भन्ने बहस सुरु भएको छ।
यता नेपालमा भने यदि भारतले अत्यधिक नगद बजारमा प्रवाह गरेको कारण त्यहाँको मुद्रा भारु कमजोर भयो भने हामीलाई कस्तो प्रभाव पर्छ भन्ने विषयमा छलफल सुरु भएको छ। कतिपय नेपालले त्यही बेला नेपालको मुद्राले आफूलाई केही बनाउन सक्छ भन्ने तर्क गर्दै छन् भने नेपालले भारतीय मुद्रासँग कायम गरेको स्थिर विनिमय दरले नेपाललाई लाभ नै भइरहेको हुँदा त्यसबारे सोच्नु नहुने बताइरहेका छन्।
नेपालको भारतसँगको अत्यन्तै ठुलो र प्रत्यक्ष व्यापार हुने हुँदा भारतमा यदि महँगी बढ्यो भने त्यसले हामीलाई समेत सिधा असर पर्ने हुन्छ। यदि भारतीय बजारमा अधिक तरलता देखियो भने नेपाली बजार समेत महँगिने भने पक्का छ। यो चिन्ता किन बढेको हो भने भारतीय अर्थशास्त्री र त्यहाँको केन्द्रीय बैंकका अधिकारीले नै अहिले यदि सरकारले नयाँ नोट छापेर अर्थतन्त्र चलायमान बनाउने निर्णय गर्यो र रिजर्भ बैंकले नोट छाप्यो भने त्यहाँ बजार भाउ थाम्नै नसक्ने गरी बढ्ने चिन्ता व्यक्त गरिरहेका छन्।
बीबीसी हिन्दीले आफ्नो रिपोर्टमा लेखेको छ- आरबीआई अधिकारीका अनुसार भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले वर्तमानमा मुद्रा छाप्नु पर्ने आवश्यकता महसुस गरेका छैनन्। शक्तिकान्त दासका अनुसार यसले आर्थिक वृद्धिलाई हानी पुर्याउने र मुद्रास्फीति बढ्ने डर छ।
रिजर्भ बैंकसँग सम्बन्धित एक अधिकारीले भनेका छन्, "धेरै पैसा आपूर्तिले मुद्रास्फीति बढाउनेछ। साथै, सरकारले नोट छाप्ने कुरामा ध्यान दियो भने मुद्रा र ऋण बजार दुबैमा अनिश्चितता आउँछ भने मुद्राको ठुलो अवमूल्यन हुनेछ। "
पैसा छापेर बजारमा छ्यापछ्याप्ती हुँदा बजार भाउ बढ्ने र मुद्राको वास्तविक मूल्यमा अवमूल्यनको जोखिम हुने खतरा हुन्छ। तर केही अर्थशास्त्रीहरूको तर्क छ कि यो सामान्य अवस्थामा साँचो हो, तर यस समय देश सामान्य अवस्थाबाट गुज्रिरहेको छैन।
भारतको आर्थिक समुदाय पैसा छाप्ने कुरामा विभाजित छ। अर्थतन्त्रको अवस्था यति नराम्रो छ कि धेरै विज्ञहरू भन्छन् आरबीआईले मुद्रा मुद्रण गर्नका लागि यही नै सही समय हो। केही अन्य विज्ञहरू तर्क गर्छन्-बजारमा तरलता (नगद) को कुनै अभाव छैन, त्यसैले मुद्रास्फीति बढ्ने जोखिम थप नोट छापेर लिनु हुँदैन।
किन छापिन्छ यस्तो बेला नोट ?
प्राय: अर्थव्यवस्थामा सन्तुलन ल्याउन मौद्रिक उपायहरू गरिन्छ। धेरै नोटहरू छाप्नु भनेको प्राविधिक भाषामा मात्रात्मक सहजता (क्वान्टिटेटीभ इजिङ्ग) भनिन्छ, यसको अर्थ पैसाको उपलब्धता बढाउनु हो।
यो विधि विश्वका धेरै देशहरूमा अपनाइएको छ। अमेरिकाको फेडरल रिजर्भले हालैका वर्षहरूमा यस विधिलाई सफलतापूर्वक प्रयोग गरिसकेको छ, तर भेनेजुएला र जिम्बावे जस्ता देशहरूमा यसको घातक परिणामहरू देखा परेका छन्।
गत हप्ता भारतका एक शीर्ष बैंकर उदय कोटकले एक साक्षात्कारमा कोरोना महामारीको दोस्रो छालले क्षतिग्रस्त अर्थव्यवस्थालाई समर्थन गर्न नोट छाप्न आवश्यक छ भनेका थिए।
कोटक महिन्द्रा बैंकका सीईओको तर्क के छ भने नोट छाप्ने काम दुई क्षेत्रका लागि गर्नु आवश्यक छ। पहिलो, अर्थतन्त्रको तल्लो तहका लागि र दोस्रो महामारीले प्रभावित क्षेत्रहरूमा रोजगार सुरक्षाको लागि।
उनले भने, "मेरो विचारमा यो समय सरकारको ब्यालेन्स सिट विस्तार गर्ने समय हो, जसमा भारतीय रिजर्भ बैंकले सहयोग गर्न सक्दछ। मौद्रिक विस्तार वा पैसाको प्रिन्टिङका लागि केही गर्नुहोस्, यदि त्यस्तो योजना अहिले छैन भने अब कहिले?"
मुम्बई शेयर बजारका चर्चित व्यक्तित्व विजय भांबवानीका अनुसार मुद्रा प्रिन्ट गर्ने निर्णयलाई अन्तिम विकल्पका रूपमा लिनुपर्नेछ। उनी भन्छन्, "जब कुनै विकल्प बाँकी छैन भने नोट प्रिन्टिङको प्रयोग उचित नै हुनेछ ।"
आर्थिक मामिलासम्बन्धी विज्ञ तथा 'खराब पैसा' (ब्याड मनि) पुस्तकका लेखक विवेक कौलका अनुसार यो कुरा सही छैन कि आरबीआईले पैसा प्रिन्ट गरिरहेको छैन, यो विधि अप्रत्यक्ष हो।
उनी भन्छन्, "आरबीआईले भनेको छ कि सरकारले यो वर्ष अप्रिल र सेप्टेम्बरको बिचमा २.२ लाख करोडको सरकारी वण्ड किन्ने छ। उनीहरू कसरी यी बन्डहरू किन्छन् ? यसले नोट प्रिन्ट गर्दछ। केन्द्रीय बैंकले नोट छाप्छ र अर्थव्यवस्थामा धकेल्छ। आरबीआईले पहिले नै नोटहरू प्रिन्ट गरिरहेको छ। यसले गत वर्ष नोट पनि छाप्यो। "
भारु-नेरु पेगिङ्गको इतिहास
बि.स. २०१६ सालसम्म नेपाली र भारतीय रुपैयाँको भाउ बराबर थियो। सय भारु बराबर सय नेरु। त्यसयता भारुको दाँजोमा नेरु सस्तो हुँदै अहिलेको अवस्थामा आइपुगेको हो। सन् १९६६, १९६७, १९७७ र १९८५ मा भारुको दाँजोमा नेरु सस्तो भएको थियो। सन् १९९१ र १९९३ मा महँगो भएको थियो। सन् १९९३ यता भने परिवर्तन गरिएको छैन।
नेपाली मुद्रा (नेरु) र भारतीय मुद्रा (भारु) बिचको सटही दरको इतिहास हेर्ने हो भने नेपाली मुद्राले भारतीय मुद्राको तुलनामा आफ्नो मूल्य ठुलो मात्रामा गुमाएको देखिन्छ। सन् १९६० को दशकमा भारु १ को मूल्य नेरु १.०१ देखि १.६० नेरुसम्मको विनिमय दर कायम रह्यो । सन् १९७० को दशकमा १ भारु बराबर नेरु १.३९ देखि १.४५ सम्म पनि भयो। फेरी सन् १९८० को दशकमा भारु १ बराबर नेरु १.६८ पनि पुग्यो ।
अन्ततः सन् १९९३ पूर्वार्धमा दुई राष्ट्रले अब उप्रान्त भारु-नेरुको विनिमय दर निश्चित अर्थात् भारु १ बराबर नेरु १.६० हुने भनेर तय गरे । अर्थात्, १०० भारतीय रुपैयाँ बराबर १६० नेपाली रुपैयाँ हुने भनेर तोकियो । यही दर आजसम्म कायम छ । नेरु-भारु विनिमय सम्बन्ध दुई सरकारहरूले तय गर्दै आएका छन्। ।
प्रतिक्रिया दिनुहोस