
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो ।
गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेका थिएँ– ‘अब काठमाडौँमा नाक समाएर हिँड्नुपदैन । माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’
प्रधानमन्त्री यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए । प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुँवा र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नुपर्ने अवस्था छैन । तर यथार्थ भने ठीन उल्टो छ । प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ ।
सडकमा हिँड्नेले पनि प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना गरेका छन्। जोरपाटी, बौद्ध, चाबहिल, रत्नपार्क, कोटेश्वर, चक्रपथ, थानकोटलगायत सडकमा हिँड्दा वायु र धुलो–धुवाँजन्य प्रदूषणबाट बच्न माक्स लगाएर हिँड्नपर्छ। प्रधानमन्त्रीले वास्तविकताभन्दा टाढा गएर भाषण गरेको भन्दै सर्वसाधारण एकै स्वरमा भन्छन, ‘माक्सबिना त सडकमा हिँड्नै सकिँदैन।’
माक्स लगाएर बौद्धस्थित सडकमा हिँडिरहेका कपनका गोपाल तामाङले अचाक्ली धुवाँ–धुलोका कारण जनस्वास्थ्यमा असर परेको बताए। उनले धुलो–धुवाँबाट हल्का बच्न माक्स लगाएर हिँड्नुबाहेक विकल्प नभएको बताए। उनले भने, ‘बौद्ध–जोरपाटी सडकमा धुलोले मान्छे देखिँदैन। माक्सबिना घरबाहिर निस्कनै सकिँदैन। धुलोबाट बच्न दैनिक माक्स लगाउँछु। माक्सबिना हिँड्न त सडक धुवाँ–धुलोमुक्त हुनुपर्छ नि।’ आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस