
जनकपुर । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टकलालाई मंगलबार जन्मकैदको फैसला गरेको छ । जनकपुर बम विस्फोट मुद्दामा साहलाई गत फागुनमा धनुषा अदालतले नै जन्मकैद हुने फैसला गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिंघानिया हत्याका योजनाकार पूर्वराज्यमन्त्री साह र सुटर मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो । २०६६ फागुन १७ मा होली पर्वको दिन जनकपुर टुडेका प्रकाशनका सञ्चालक सिंघानियालाई जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो । सिंघानिया हत्याका बेला साह भौतिक पूर्वाधार राज्यमन्त्री थिए ।
जनकपुर टुडेमा आफ्नोविरुद्धमा लगातार समाचार आएको झोंकमा पूर्वराज्यमन्त्री साहले सिंघानियाको हत्या योजना बुनेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सिंघानिया हत्यापछि फरार चन्द्रदीप पक्राउ परेपछि हत्यामा संलग्नता खुलेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा जनकपुर क्षेत्रबाट सद्भावना पार्टीबाट निर्वाचित साह सभासद रहेकै बेला सिंघानियाको हत्या आरोपमा पक्राउ परेका थिए ।
होलीको उमंगमा जनकपुरधाम व्यस्त रहेका बेला रामा होटलको कोठामा सुटर राखेर सिंघानियाको ‘फलो’ गरिएको थियो । जनकपुरको शिवचोकमा सिंघानियालाई रंग–अबिर दल्दै गोली प्रहार गरिएको थियो । अदालतको फैसलापछि सिंघानियाका छोरा राहुलले न्याय पाएकोमा खुसी व्यक्त गरे ।
‘अदालतको फैसलापछि न्याय पाएको छु । अपराधीलाई सजाय भएकोमा परिवार आशावादी बनेको छ,’ उनले भने, ‘तर, अझै केही शंका गरिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ ।’ कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस