
काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न वाग्मती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ ।
पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताएका छन ।
बैठकमा प्रदेशसभा सदस्य वैद्यले आफू प्रधानमन्त्री ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । “उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानूनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
कपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन ।रासस
प्रतिक्रिया दिनुहोस