aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

जी ७ विरुद्ध बेलायतबाटै चीनको हुङ्कार: अब तिमीहरूको भुकाइको कुनै अर्थ छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ जेठ २०७८
जी ७ विरुद्ध बेलायतबाटै चीनको हुङ्कार: अब तिमीहरूको भुकाइको कुनै अर्थ छैन

एजेन्सी। बेलायतको कर्नवालमा सम्पन्न विश्वका सात धनी देशहरू जी-७ बैठकको अन्तिम दिन आइतबार चीनको विषय निकै नै हाबी रह्यो। जी ७ देशका नेताहरूले झिनज्यानका भिगोर मुसलमानहरूको मानवअधिकार उलङ्घनका लागि चीनलाई हप्काए।

उनीहरूले हंगकंगलाई बढी स्वायत्तताको माग गरे। यसका लागि हंगकंगका सम्बन्धमा ब्रिटेन र चीनबिच भएको संयुक्त घोषणालाई उद्धृत गरियो। कुरा यतिमा मात्र सीमित रहेन, उनीहरूले चीनमा कोरोना भाइरसको उत्पत्तिको गहन छानबिनको माग समेत गरे।

यसरी जी ७ राष्ट्रका नेताहरू एकजुट भएर आफू विरुद्ध खनिएपछि चीनले पनि यस सम्बन्धमा आफ्नो प्रतिक्रिया दियो। जसमा चीनले उनीहरूको भुकाइको कुनै अर्थ नरहने बताएको छ। 

चीनले जी-७ देशका नेताहरूलाई चेतावनी दिँदै भनेको छ कि मुठीभर देशहरूले संसारको भविष्यको निर्णय गर्ने दिनहरू अब समाप्त भइसकेका छन्। लन्डनस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने, "हामीले सदैव विश्वास गरेका छौँ कि कुनै पनि देश चाहे ठुलो होस् वा सानो, बलियो होस् वा कमजोर, गरिब होस् वा धनी, सबै समान हुन् र विश्वव्यापी मामिलामा सबै देशले विचार गर्नुपर्दछ। यस्ता विषयको सबैको परामर्श पछि मात्र समाधान गर्न सकिन्छ।"

उता जी ७ देशले चीनलाई बहुदलीय राजनीतिको सम्झना गराउँदै गर्दा लन्डनमा चिनियाँ दूतावासले भन्यो, "विश्वमा एउटा मात्र बहुदलीय प्रणाली रहेको छ त्यो हो अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको चार्टर। यो सबैका लागि समानता, सहकार्य र आपसी फाइदाको विशेषता हो। सानो समूह वा राजनीतिक वर्गको हितको लागि काम गर्नेहरूको समूह कथित-बहुदलीय प्रणाली होइन।"

चीनको यो बयान यस्तो बेला आएको छ जब जी ७ देशहरू आफूलाई चीनको विरुद्ध एकजुट गर्ने प्रयास गर्दै छन्। जी-७ देशहरूमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका सामेल छन्।

बेलायतको कर्नवालमा आयोजित यस शिखर सम्मेलनमा उपस्थित बीबीसीका संवाददाताले अमेरिकी राष्ट्रपति जो वाईडेनले सम्मेलनमा कोरोना महामारीपछि लोकतान्त्रिक देशहरू र ताना शाही प्रणाली भएका देशहरूबिच द्वन्द्वको स्थिति आएको बताएका छन्।

इटालीका प्रधानमन्त्री मारियो ड्रघीले भने कि जी ७ ले पश्चिम र चीन बिचको भिन्नताका बारे खुला कुरा गर्नुपर्नेछ। ड्रेघीले उक्त सम्मेलनको बयानका बारे बोल्दै  चीनमा मानवअधिकार उलङ्घनदेखि कोरोना भाइरसको उत्पत्तिसम्मको विषय उल्लेख गरेका थिए।

आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, "चीनमा यस्तो ताना शाही छ जुन बहु-आयामिक शासनमा विश्वास गर्दैन। विश्वका लोकतान्त्रिक देशहरू  चीनको दृष्टिकोणसँग सहमत छैनन्।" अमेरिकी राष्ट्रपतिले पनि चुप लाग्नु भनेको अपराधमा भाग लिनु जस्तो हो भन्दै चीनको विरुद्ध बोलेका थिए। 

बेलायतको दक्षिण पश्चिममा जी ७ देशहरूको शिखर सम्मेलन समाप्त हुने बित्तिकै अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेका गैरसरकारी संस्था र विश्वव्यापी मुद्दाहरूमा काम गरिरहेका मानिसहरूले कोरोना महामारी र मौसम परिवर्तनको बारेमा सङ्गठनको घोषणाको आलोचना गरे।

पूर्व बेलायती प्रधानमन्त्री जोर्डन ब्राउनले कर्नवाल सम्मेलनलाई 'हराएको अवसर' भनेर वर्णन गर्दै भने, "जब हामीलाई ११ अर्व खोप आवश्यक छ, १ अर्ब डोज मात्र घोषणा गरिएको छ। यसका लागि ५० अर्व डलर चाहिएको छ तर ५ अर्ब डलर मात्र घोषणा गरिएको छ। जब विश्वका धनी देशहरू भेला भएका थिए, तिनीहरूसँग केही गर्न सक्ने शक्ति थियो। मलाई लाग्छ कि यो उनीहरूको नैतिक असफलता हो। " (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस