aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

तीन गुणा उत्पादन हुँदा पनि किन सिटामोलको अभाव देखियो ? मूल्य बढाउन हो  !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ जेठ २०७८
तीन गुणा उत्पादन हुँदा पनि किन सिटामोलको अभाव देखियो ? मूल्य बढाउन हो  !

काठमाडौं । दुई गुणा मूल्यवृद्धि गराउन दबाब दिने उद्देश्यसहित औषधि उत्पादक कम्पनीहरूले योजनाबद्ध रूपमा बजारमा पारासिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन् । कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै महामारीका वेला उनीहरूले एक रुपैयाँ पर्ने पारासिटामोलको मूल्य तीन रुपैयाँ पु¥याउन औषधि व्यवस्था विभागलाई दबाब दिएका छन् ।

कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको पारासिटामोल केही दिनदेखि बजारमा अभाव छ । उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी सरकारलाई मूल्यवृद्धि गर्न बाध्य बनाउने रणनीति अपनाएका छन् । ‘औषधि उत्पादक कम्पनीहरूले महामारीको मौका छोपेर मूल्य बढाउन लबिङ गरिरहेका छन् । यो न्यायोचित छैन,’ औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भने, ‘०६४ मा पारासिटामोलको मूल्य एक रुपैयाँ निर्धारण गरिएको थियो । त्यसयता मूल्यमा समायोजन भएको छैन । यही मौकामा उद्योगीहरूले यस्तो रणनीति अवलम्बन गरेका हुन् ।’ 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले पनि उद्योगीहरूलाई बल पुगेको केसीले बताए । ‘तर, औषधि व्यवस्था विभाग पारासिटामोलको मूल्य बढाउने पक्षमा छैन,’ उनले भने । बजारमा पारासिटामोलको अभाव नै नभएको केसीको दाबी छ । 

‘बजारमा जसरी औषधि छैन भन्ने कुराहरू बाहिर आएको छ, त्यस्तो अवस्था भने होइन । दुईवटा पसलमा नभेटिएको पारासिटामोल तेस्रो पसलमा भेटिएको छ । कोरोनाकालभन्दा अगाडि पारासिटामोलको वार्षिक खपत साढे पाँच करोड ट्याबलेट भए पनि अहिले दोब्बरले उत्पादन भएको छ । त्यहीअनुसारको माग छ,’ केसीको भनाइ छ । 

महामारीका वेला सरकारले आपत्कालीन रूपमा विदेशबाट भए पनि पारासिटामोल आयात गरेर माग पूर्ति गर्नुपर्ने हो । तर, आयन हेल्थ केयर प्रालिले अहिलेको बजार मूल्यभन्दा सस्तो दररेटमा १० दिनभित्र पारासिटामोल उपलब्ध गराउने भन्दै दुईपटक अनुमति माग्दासमेत औषधि व्यवस्था विभागले चासो दिएको छैन । 

बंगलादेशबाट पाँच सय एमजीका पाँच करोड ट्याबलेट १० दिनभित्र आयात गरेर अभाव न्यूनीकरण गर्ने आयनको प्रस्ताव छ । उसले पहिलोपटक ५ जेठ र पछिल्लोपटक २४ जेठमा आपत्कालीन अनुमतिको माग गर्दै औषधि व्यवस्था विभागमा निवेदन दिएको थियो । तर, औषधि उद्योगहरूको प्रभावमा परेर विभागले चासो नदेखाएको स्रोतको दाबी छ ।

‘सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य उपचारको मौलिक हकबाट वञ्चित हुन नदिनुपर्ने हो । यस्तो महामारीका वेला त झन् तत्काल बाहिरबाट खरिद गरेर भए पनि ल्याउनुपर्ने हो,’ विभागकै एक अधिकारीले भने, ‘तर, सस्तोमा दिन्छु भनेर दुई–दुईपटक आपत्कालीन आयातको अनुमति माग गर्दासमेत नेपाली उद्योगहरूको प्रभाव र आर्थिक चलखेलका आधारमा विभागले आयातको अनुमति दिएको छैन ।’

आयनले अहिलेको बजार मूल्यभन्दा सस्तो रेटमा पारासिटामोल उपलब्ध गराउने प्रस्ताव गरेको छ । बजारमा अहिले पारासिटामोल एक ट्याबलेटको एक रुपैयाँ पर्छ । तर, आयानले प्रतिट्याबलेट ९५ पैसामा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । तर, औषधि उत्पादक संघले भने उद्योगीबाट नभएर राज्यबाट नै कृत्रिम अभाव सिर्जना गरिएको दाबी गरेको छ । ‘दुई करोड ट्याबलेट पारासिटामोल अहिले पनि बजारमा मौज्दात छ । फेरि पनि आवश्यकभन्दा बढी माग भएको छ ।

१० महिनामा नेपाली औषधि उद्योगले १० करोड ट्याबलेट पारासिटामोल बजारमा पठाएको छ,’ संघका महासचिव विप्लव अधिकारीले भने, ‘जब कि कोभिडभन्दा अगाडि वर्षमा पाँचदेखि ६ करोड ट्याबलेट पारासिटामोल मात्रै बजारमा खपत हुँदै आएको थियो । जनतामा भ्रम सिर्जना गर्न अहिले उनीहरूले ९मेडिकलहरू० चाहिनेभन्दा बढी किने, त्यसैले बजारमा अभाव देखिएको हो ।’ मेडिकल सञ्चालकहरूले आवश्यकताभन्दा बढी मागिरहेको उनको भनाइ छ । 

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले पनि बजारमा पारासिटामोलको अभाव नभएको दाबी गरे । अभाव नभएकै कारण बाहिरबाट आयात गर्न अनुमति नदिइएको उनको भनाइ छ । ‘अहिले आवश्यक मात्रामा पारासिटामोल भएकाले नै आयातका लागि तत्काल अनुमति दिनुपर्छ जस्तो लागेको छैन,’ उनले भने, ‘तर, यही अवस्था बढ्दै गएमा त्यसबारे पनि सोच्न सकिन्छ । 

संघले मूल्य वृद्धिको प्रस्ताव चार वर्षअघि नै राखेको महासचिव अधिकारीले बताए । ‘औषधि अभाव भएको होइन, अभाव सिर्जना गरिएको हो । त्यो उद्योगहरूबाट होइन, राज्यबाट गरिएको हो । हामीले औषधिको मूल्य बढाउन अहिले मात्रै होइन, चार वर्षअगाडि औषधि नै व्यवस्था विभागमा पत्राचार गरेका छौँ ।’

नेपालमा १६ वटा उद्योगले पारासिटामोल उत्पादन गरेर बजारमा पठाइरहेका छन् । मूल्य वैज्ञानिक रूपमा बढाउनुपर्ने हो । औषधि अभाव भएको होइन, अभाव सिर्जना गरिएको हो । त्यो उद्योगहरूबाट होइन, राज्यबाट गरिएको हो । हाम्रा उद्योगहरूले पारासिटामोलको उत्पादन गरिरहेका छन् ।

दुई करोड ट्याबलेट पारासिटामोल अहिले पनि बजारमा मौज्दात छ । आवश्यकभन्दा बढी माग भएको छ । विगत १० महिनामा नेपाली औषधि उद्योगले १० करोड ट्याबलेट पारासिटामोल बजारमा पठाएको छ । कोभिडभन्दा अगाडि वर्षमा पाँचदेखि ६ करोड ट्याबलेट पारासिटामोल मात्रै बजारमा खपत हुँदै आएको थियो । 

जनतामा भ्रम सिर्जना गर्न उनीहरूले (मेडिकल) चाहिनेभन्दा बढी किने, त्यसैले बजारमा अभाव देखिएको हो । विगतका वर्षहरूमा भन्दा तीन गुणासम्म बढी ट्याबलेट पारासिटामोल उत्पादन भएको अवस्थामा कुनै पनि हालतमा अभाव हुन सक्दैन । हामीले औषधिको मूल्य बढाउन अहिले मात्रै होइन, चार वर्षअगाडि नै औषधि व्यवस्था विभागमा पत्राचार गरेका छौँ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस