
काठमाडौं । कोरोना महामारी नियन्त्रणमा स्थानीय प्रशासनले चालेको उचित कदमका कारण उदयपुरमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीराम सेडाई पनि उदयपुरमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको बताउँछन् ।
सेडाई भन्छन्, ‘उदयपुरको पछिल्लो समय कोरोना सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ । हामीले कोरोनाको परीक्षण दायरा बढाएका छौँ । अहिले गाउँ गाउँमा परीक्षण गरिरहेका छौँ ।’ उनका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएकोले पछिल्लो पटक थपिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ ।
हाल उदयपुरमा कोरोना सङ्क्रमण नियन्त्रणको अवस्थामा छ । सङ्क्रमित घट्दै गएका छन् । यसले असारको पहिलो साता पछि निषेधाज्ञा खुकुलो पार्दै स्वास्थ्य मापदण्ड पालना गरेर आर्थिक गतिविधि चलायमान गर्ने तयारीमा जिल्ला प्रशासन कार्यालय रहेको समेत उनले जानकारी दिए।
उदयपुरमा कोरोना नियन्त्रण गर्न आफूहरूले चालेका सबै प्रयासहरू सार्थक हुँदै गएको सेडाईको दाबी छ । उनले भने, ‘अहिलेसम्म कोरोना सङ्क्रमित मध्ये २० प्रतिशतलाई मात्रै अक्सिजन दिनुपर्ने अवस्था आएको छ । हामीसँग अक्सिजनको कमी छैन । अहिले हामी कम्तीमा एक सय जना सङ्क्रमितलाई अक्सिजन दिएर उपचार गर्न सक्छौँ । उदयपुर जिल्लाको हकमा कोरोना नियन्त्रण गर्ने हाम्रो प्रयास सार्थक बन्दै गएको छ।’
जिल्ला प्रशासन कार्यालयले जनताका सेवाहरूलाई पालिका अनुसार दिन छुट्याएर सञ्चालन गर्ने तयारी रहेको पनि उनले बताए ।
यस्तो छ उदयपुरमा कोरोनाको पछिल्लो अवस्था
उदयपुरमा हालसम्म एक हजार ७ सय ५४ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । जसमध्ये एक हजार १२ सय १७ जना निको भएर घर फर्किसकेका छन् । निको हुने मध्ये ५ सय ४१ महिला र ६ सय ७५ पुरुष रहेका छन् ।
सोमबार १२ बजेसम्म उदयपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७४ रहेको छ । त्यस्तै, हालसम्म कोरोनाका कारण उदयपुरमा ४७ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु भएका मध्ये त्रियुगा नगरपालिकामा २५ जना, कटारी नगरपालिकामा ४ जना, बेलका नगरपालिकामा ४ जना, चौदण्डी गढी नगरपालिकामा ९ जना, रौतामाई गाउँपालिकामा १ जना, उदयपुर गढी गाउँपालिकामा ३ जना र लिम्चुङबुङ गाउँपालिकामा १ जना रहेका छन् ।
पछिल्लो समय उदयपुरमा कोरोना भाइरसका सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको स्वास्थ्य कार्यालय उदयपुरका तंथ्याक अधिकृत उमेश लुइँटेल बताउँछन् । उनी भन्छन्, ‘अहिले उदयपुरमा कोरोना भाइरसको स्थिति नियन्त्रणमा रहेको छ । निको हुने दर बढिरहेको छ । थपिने सङ्क्रमित भन्दा निको हुने धेरै छन् । यसरी हेर्दा उदयपुरमा कोरोना भाइरस नियन्त्रणको स्थितिमा आइरहेको छ ।’
उद्योगी, व्यवसायीलाई खोप लगाएर अर्थतन्त्र चलायमान बनाउनु पर्छः अध्यक्ष भगत
उद्योग वाणिज्य संघ गाइघाटका अध्यक्ष गजेन्द्र भगतले उद्योगी, व्यवसायीलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनु पर्ने माग गरेका छन् । उनले भने, ‘सरकारले कोरोनाको खोप लगाउन व्यवसायीलाई प्राथमिकतामा राखेको छैन । हामी आफैले कोरोनाको खोप किनेर लगाउँछौ भन्दा पनि पाइराखेका छैनौँ । उद्योगी, व्यवसायी पनि अग्र भागमा रहेर काम गर्ने भएकोले प्राथमिकतामा राखेर खोप लगाई अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ ।’
उनले अगाडी थपे, ‘अहिले उद्योगी व्यापारीको अवस्था एकदमै जटिल भएको छ । व्यवसाय धरायशी बनेको छ । गाइघाटका व्यापारीको कुरा गर्ने हो भने लगभग ८० प्रतिशत व्यापारीले ऋण लिएर व्यापार व्यवसाय चलाइरहेका छन् । अहिले व्यापार व्यवसाय ठप्प छ । उनीहरूले अहिले न किस्ता तिर्न सक्छन् न भाडा नै तिर्न सक्छन् । यसले गर्दा व्यापारीहरू डिप्रेसनमा पुग्ने स्थिति भइसक्यो । यस्तै अवस्था अझै लम्बिने हो भने व्यापारीले आत्महत्या गर्ने स्थिति आउँछ ।’
अब स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने उनको माग छ ।
प्रतिक्रिया दिनुहोस