
विश्वभर कोरोना विरुद्धको खोप अभियान जारी छ । कतिपय देशका मानिसहरु खोपको व्यग्र प्रतीक्षामा छन् । कतै भने खोप नलगाउने अभियान नै चलिरहेको छ ।
अमेरिकाका कतिपय राज्यहरुले खोप अभियानमा सहभागी हुनेलाई आकर्षक पुरस्कारको घोषणा गरेर लोभ्याइरहेका छन् भने उता पाकिस्तानमा चाहिँ खोप नलगाउनेलाई सजाय दिने तयारी हुँदै छ ।
समाचारहरूमा उल्लेख भए अनुसार पाकिस्तानले आगामी आर्थिक वर्षमा कोरोना विरुद्धको खोपका लागि मात्र एक अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । यसबाट उसले आफ्ना दश करोड भन्दा बढी नागरिकलाई खोप लगाउने तयारी गरेको छ ।
तर, त्यही कतिपय समूहहरू भने खोपका विरुद्ध अभियान चलाइरहेका छन् । तिनीहरूको अभियानलाई निस्तेज पार्न र सबै नागरिकलाई खोप अभियानमा सहभागी हुन बाध्य पार्न केही नयाँ उपायहरूबारे त्यहाँ छलफल चलिरहेको छ ।
गएको बिहीबार पाकिस्तानको पन्जाब प्रान्तमा चलेको खोप अभियान सम्बन्धीको बैठकमा त्यहाँका स्वास्थ्य मन्त्री यस्मिन रसिदले खोप नलगाउने मानिसहरूको सिम कार्ड नै ब्लक गरेर मोबाइलको प्रयोगबाट समेत अलग राख्ने नीति अवलम्बन गर्न लागिएको बताएकी हुन् ।
उनले भनिन्, ‘हामी सबैलाई खोप लगाउन बाध्य पार्ने छौँ । सरकार कुनै पनि व्यक्तिलाई खोप नलगाई बस्न दिने पक्षमा छैन ।’ उनले अगाडी थपिन्, ‘कुनै व्यक्तिले खोप लगाउन मानेन भने त्यसको केही समय पछि नै उसको सिम ब्लक गर्ने र खोप लगाएपछि मात्रै खोल्ने नीति बनाइँदै छ ।’
त्यो बैठकको केही समय पछि नै पन्जाबको स्वास्थ्य विभागले ट्विट गर्दै लेखेको छ– खोप नलगाउने मानिसहरूको सिम कार्ड ब्लक हुनसक्छ । यो निर्णय क्याबिनेट मिटिङमा गरिएको हो । सरकारले १८ वर्ष माथिका सबै नागरिकको लागि जहाँ छौँ त्यही खोपको खोपको व्यवस्थमा गरेको छ ।
तर, कुन मितिदेखि सिम कार्ड ब्लक गरिनेछ भन्ने विषयमा स्पष्ट पारिएको छैन । पाकिस्तानको चर्चित पत्रिका डाउनले यस सम्बन्धमा लेखेको छ, अन्ततः खोप नलगाउने मानिसको मोबाइल सिम कार्ड ब्लक गर्ने निर्णय भयो ।
प्रतिक्रिया दिनुहोस