
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा विभिन्न शीर्षकमा मनपरी भुक्तानी गरेर करोडौं रुपैयाँ भ्रष्टाचार गरेको तथ्य फेला परेको छ ।
आयोजनाले निर्माण कम्पनीहरुसँग गरेको सम्झौता बमोजिम जनरल आईटम एन्ड प्रिलिमिनरिजमा ६० करोड ५३ लाख ९० हजार रुपैयाँसम्म खर्च गर्न पाउने शर्त भएकोमा पहँुच सडक, सवारी मर्मत, ड्राइभर, श्रमिक ज्यालालगायतको शीर्षकमा बिलभन्दा बढी भुक्तानी भएको देखिएको हो । १३ कम्पोनेन्टमा प्रोभिजन गरेको भन्दा ६ करोड ४ लाख ६८ हजार ७०५ रुपैयाँ बढी खर्च भएको देखिएकोे छ ।
निर्माण व्यवसायीले पेस गरेको बिललाई परामर्शदाताले जाँच नगरेका कारण बढी खर्च भएको देखिएको हो । साथै समितिले परामर्शदाताबाट सिफारिस भएका बिल भुक्तानीयोग्य भए नभएको समेत नहेरी सम्झौताविपरीत भुक्तानी दिएको महालेखापरीक्षकको प्रतिवेदनमा समेत उल्लेख गरेका छ ।
स्रोतका अनुसार मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्कसम्मको पहुँचमार्ग निर्माण गर्ने कम्पनीलाई ४२ लाख ९८ हजार ७५३ रुपैयाँ बढी भुक्तानी गरेको दखिएको छ । त्यस्तै, ग्याथेमसम्मको बाटो निर्माणकर्ता अर्को कम्पनीलाई ७ लाख ९ हजार ६२ रुपैयाँ, सिन्धुसम्मको पहुँचमार्ग निर्माणकर्र्ता कम्पनीलाई ६ लाख २४ हजार ८७३, सुन्दरीजलसम्मको बाटो निर्माणमा पनि १ लाख ४८ हजार ३९३ रुपैयाँ बढी भुक्तानी गरेको छ ।
टोयटा हाइलेक्स गाडी मर्मतका लागि मात्र तीन करोड १० लाख ५५ हजार ६६५ रुपैयाँ बिलभन्दा बढी भुक्तानी गरेको छ । स्रोतका अनुसार मेलम्ची खानेपानी आयोजना विकास समितिमा भएका सबैजसो खरिदमा ठेकेदारलाई नै जिम्मा लगाएकाले समस्या आएको देखिएको छ । सरकारी निकायले मेलम्चीको सबै प्रक्रियामा हेलच्याक्राई गरेका कारणले सरकारी रकममा मनोमानी खर्च भएको छ ।
समिति र निर्माण व्यवसायीबीच भएको सम्झौतामा स्थाीनय र वैदेशिक मुद्राकोे भुक्तानी डलर खातामार्फत कति रकमसम्म विदेश पठाउने भन्ने कुरा उल्लेख भएको छैन । त्यसको भुक्तानी खर्चमध्ये ७१.९० प्रतिशत रकम इटाली पठाएको देखिएको छ । समितिले आव २०७०÷०७१ मा नै सम्झौताको शर्तअनुसार मोबिलाइजसन पेश्की १५ करोड ४६ लाख ९४ हजार र गत वर्षसम्म पटक–पटक गरी ५९ करोड १३ लाख ६० हजार रुपैयाँ अतिरिक्त पेश्की दिएको छ ।
प्रतिक्रिया दिनुहोस