aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

चीन विरुद्ध पश्चिमी मुलुक एकजुट, बढ्दो जोखिमलाई चुनौती दिने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
चीन विरुद्ध पश्चिमी मुलुक एकजुट, बढ्दो जोखिमलाई चुनौती दिने घोषणा

काठमाडौँ। ब्रसेल्समा शिखर सम्मेलनमा भेला भएका उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)मा आबद्ध भएका देशका सरकार तथा राष्ट्रप्रमुखहरूले चीनले सुरक्षा जोखिम निम्त्याएको ठहर गरेका छन् । नेटोमा आबद्ध देशका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमलाई चुनौती दिने चेतावनी समेत दिएका छन् ।

उनीहरूले भनेका छन् कि यो व्यवहार "प्रणालीगत चुनौती" हो। चीनले आणविक हतियारहरू द्रुत रूपमा विस्तार गरिरहेको छ, आफ्नो सैन्य आधुनिकीकरणको बारेमा "अपारदर्शी" छ र रुससँग सैन्य सहकारी गरिरहेको छ।

३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक तथा सैन्य गठबन्धन नेटोमा आबद्ध नेताहरूले चीन तीव्र ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको आरोप लगाएका छन् ।

नेटो शिखर बैठकपछि जारी विज्ञप्तिमा चीनको ‘घोषित महत्त्वाकाङ्क्षा र आक्रामक व्यवहारले अन्तर्राष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमा’ प्रणालीगत चुनौती दिने उल्लेख गरिएको छ ।

नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गले सैन्य र प्राविधिक क्षमतामा चीन नेटोको ‘हाराहारी तर्फ’ आइरहे पनि नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध गर्ने मनस्थितिमा नरहेको प्रस्ट्याएका छन् ।

अमेरिकी राष्ट्रपतिको पदभार सम्हाले यताको पहिलो नेटो शिखर बैठकमा सहभागी भएका  जो बाइडनले नेटो गठबन्धनलाई अमेरिकी समर्थन कायमै रहने प्रतिबद्धता पनि जनाएका छन् ।

अमेरिकी स्वार्थका लागि नेटो महत्त्वपूर्ण रहेको भन्दै उनले गठबन्धनमा अमेरिकी साथ कायमै रहने जनाएका हुन् । त्यसमा नेटो पारदर्शिताको अभाव र गलत सूचनाको प्रयोगप्रति चिन्तित रहेको उल्लेख गरिएको छ।

विश्वकै सबैभन्दा ठुलो फौज मानिने चिनियाँ सेनामा २० लाखभन्दा धेरै सक्रिय सेवामा कार्यरत छन् । चीनको बढ्दो सैनिक सामर्थ्यलाई लिएर नेटो सदस्य राष्ट्रहरूले प्रश्न उठाउँदै आएका छन् ।

यसअघि विश्वका सर्वाधिक धनी राष्ट्रहरूको समूह जी ७ को यसै हप्ता सम्पन्न बैठक पनि चीनको बढ्दो राजनैतिक र आर्थिक प्रभावमा केन्द्रित रहेको थियो। उनीहरूले चीन विरुद्ध गरेका टिप्पणीहरूको चीनले कडा ढङ्गले जवाफ दिइसकेको पृष्ठभूमिमा नेटोको यस्तो निर्णय सार्वजनिक भएको हो। 

प्रतिक्रिया दिनुहोस