aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

अब हट्ला त रेल छोपेको पाल ? महाप्रबन्धक भन्छन्: रेल चलाउनु बस कुदाएजस्तो होइन रहेछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ असार २०७८
अब हट्ला त रेल छोपेको पाल ? महाप्रबन्धक भन्छन्: रेल चलाउनु बस कुदाएजस्तो होइन रहेछ

काठमाडौं । गत असोज २ मा भारतबाट ल्याइएका दुई वटा रेल अझैसम्म सञ्चालनमा आएका छैनन्। निकै हर्षोत्सव सहित नेपाल भित्रिएका रेल छोपिएका पाल  ९ महिनादेखि हटाइएको छैन । 

तर अब भने नेपाल रेलवे कम्पनीमा काम गर्ने कर्मचारीको तालिम पूरा भए लगत्तै रेल सञ्चालनमा आउने बताइएको छ । नेपाल रेलवे कम्पनीले वैशाख महिना भित्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिरहँदा निषेधाज्ञाका कारण सो काममा ढिलाइ भएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले बताए । निषेधाज्ञाको कारण रोकिएको तालिम सकिए लगत्तै रेल सञ्चालनमा आउने उनले जानकारी दिए। 

हुन त जयनगर–जनकपुर खण्डमा रेल सञ्चालनमा आइहाल्छ भनिएको यो पहिलो पटक भने होइन। तथापि कर्मचारीको तालिम सकिने बित्तिकै रेल चलाउने महाप्रबन्धकको भनाइ भने केही विश्वासनिय छ। उनले भने, “निषेधाज्ञाअघि भारतीय प्राविधिकको उपस्थितिमा तालिम सञ्चालन भइरहेको थियो, जुन तालिम एक महिनाको हो, तर तालिम १० दिन मात्र चल्यो । अझै २० दिनको तालिम बाँकी छ । त्यो सकिने बित्तिकै रेल चल्छ।” 

निषेधाज्ञासँगै तालिम पनि बन्द गरिएको थियो । तालिम दिन पनि बोर्डर खुल्नुपर्ने भएकाले अहिले नै त्यसलाई अगाडी बढाउन सम्भव नभएका कारण रोकिएको हो । कर्मचारीदेखि कार्यालय व्यवस्थापनसम्मका सबै तयारी सकिएको छ । अवस्था सहज भएर कर्मचारीलाई तालिम दिनासाथ रेल सञ्चालनमा कुनै समस्या नहुने भट्टराईको भनाई छ ।

अहिले जनकपूरमा लुजडाउन भइसकेको अवस्था छ लगभग यही साता भित्र स्वास्थ्यका मापदण्डहरू अपनाएर तालिमलाई निरन्तरता दिने उनले जानकारी दिए  । भारतीय प्राविधिकलाई खबर गरिसकेको पनि भट्टराईले बताए । 

यस अघि विभिन्न समयमा रेल सञ्चालनमा आउन लाग्यो भन्ने जे जस्ता हल्ला गरे पनि तयारी बिना नै त्यसो घोषणा गर्ने गरिएको उनको आरोप छ । तयारीका विभिन्न प्रक्रिया अन्तर्गत कर्मचारी भर्ना गर्न लाग्दा पनि लोकसेवाले बखेडा खडा गरेको उनले बताए। 'त्यसपछि अन्य विधिबाट कर्मचारी ल्याउन अनेक प्रयास भए । त्यस्तै दुई वर्ष भयो होला रेलवे सम्बन्धी एन संसद्मा दर्ता भएको तर त्यहाँबाट पास हुन नसकेर अल्झी राखेको थियो।'  उनले अगाडी थपे, 'कहिले संसद् भङ्ग हुने, कहिले पुनर्स्थापना हुने, कहिले संसद् नचल्ने तमासाले गर्दा केही ढिलाइ भयो । अहिले अध्यादेशबाट ऐन आएपछि भने सहज भएको छ। '

विज्ञापन खोल्दा समेत नेपालमा चालक नपाएका कारण कहाँबाट ल्याउने ? विदेशीलाई कुन विधिबाट ल्याउने ? मर्मत सम्भार कहाँ गर्ने ? जस्ता धेरै कुराको तयारी गर्दा ढिलाइ भएको उनले स्विकारे । रेल सञ्चालन कुनै बस किनेर, ड्राइभर खोजेर चलाए जस्तो नहुने भन्दै उनले रेल सञ्चालनको लागि विभिन्न खालका सुरक्षाका मापदण्डहरू अपनाउनु पर्ने बताए । 

जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्नमा अढाई सय कर्मचारीको दरबन्दी सिर्जना गरेको भए पनि लगभग सवा दुई सय जति कर्मचारी राखेर रेल सञ्चालनमा ल्याउने तयारीमा रेलवे कम्पनी रहेको छ । भारतीय चालक, पावर इन्जिनियर, प्राविधिक, स्टेसन मास्टरसँगै राखेर नेपालीहरूलाई पनि सो विषयमा तालिम दिने भट्टराईले बताए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले अवस्था सहज हुने बित्तिकै रेल सञ्चालन गर्न निर्देशन दिएपछि रेलको कुरा फेरी चर्चामा आएको हो। मन्त्रालयको नियमित प्रगति समीक्षा गोष्ठीमा उनले नेपाल रेलवे कम्पनीलाई निषेधाज्ञा खुल्नसाथ रेल चलाउन निर्देशन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस