aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बङ्गलादेशी तयारी पोशाक उद्योगमा आगलागी, छ जनाको मृत्यु

  • एएफपी
    एएफपी
  • बुधबार, १८ असार २०७६
बङ्गलादेशी तयारी पोशाक उद्योगमा आगलागी, छ जनाको मृत्यु

ढाका ।  बङ्गलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भिषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

राजधानी ढाकाबाट नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको आगो नियन्त्रणमा ल्याउन १२ घण्टाभन्दा बढी समय लागेको थियो । बङ्गलादेशमा असावधानीका कारण तयारी पोशाक कारखानाहरूमा बारम्बार आगलागीका घटना हुने गरेका छन् ।

मङ्गलबार राति शुरु भएको आगो नियन्त्रणमा ल्याउन पानीको अभाव भएको स्थानीय अग्निनियन्त्रक प्रमुख अख्तर उज जमानले बताए ।

अख्तरले घटनास्थलबाट छ जनाको शव निकालिएको जानकारी दिए । आगलागीबाट उद्योग परिसरमा रहेका आधाभन्दा बढी भवनहरूमा क्षति पुगेको छ । क्षतिग्रस्त भवनमा अरू पीडितको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

चीनपछि विश्वमै तयारी पोशाक उत्पादन गर्ने दोस्रो ठूलो मुलुक बङ्गलादेश हो । तर उद्योगमा नियमितझैँ आगलागी र अरू दुर्घटना हुने गरेको भन्दै आलोचना हुने गरेको छ । सन् २०१३ मा राना प्लाजा घटनामा एघार सयभन्दा बढीको ज्यान गएको थियो । ढाकामै गत मार्चमा एक कार्यालय भवनमा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो । 

प्रतिक्रिया दिनुहोस