
एजेन्सी। भारतमा गौतम अडाणी समूहका कम्पनीहरुको सेयर मूल्य घट्ने क्रम लगातार तेस्रो दिन पनि जारी छ। यो समुहका तीन कम्पनीहरूमा लगातार तेस्रो दिन तल्लो सर्किट लाग्यो। यी तीन कम्पनीहरूमा अडाणी ट्रान्समिशन, अडाणी पावर र अडाणी टोटल ग्यास रहेका छन्।
अडाणी समूहका कम्पनीहरूमा तीन विदेशी लगानीकर्ताले उनीहरूको पैसा फ्रिज गरेको खबर पाएपछि सोमबारदेखिको सेयर गिरावट जारी छ। सोमबार अडाणी इन्टरप्राइजेजको शेयर मुल्य २२ प्रतिशतले घटेको थियो। यस बाहेक, बाँकी ५ वटा सूचीबद्ध कम्पनीको सेयर मूल्यमा ५ देखि १५ प्रतिशत सम्मको गिरावट देखिएको थियो। यद्यपि त्यहि दिन साँझसम्ममा तीन कम्पनीको सेयरमा रिकभरी आएको थियो, तर बाँकी तीनको सेयर भने लगातार तल्लो सर्किटमा छ।
यो गिरावटको कारण अडाणी समूहका कम्पनीहरूको मार्केट क्यापमा तीन दिनमा ८६ हजार करोड भन्दा बढीले गिरावट आएको छ। सबै ६ वटा सूचीबद्ध कम्पनीहरूको बजार पूंजीकरण गएको शुक्रबार ९.४२ लाख करोड थियो। जुन बुधबार ८.५६ लाख करोडमा झरेको छ। यसमा सबैभन्दा ठूलो नोक्सानी अडाणी टोटल ग्यासमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस