aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

क्वारेन्टाइन राख्ने होटलहरुको नयाँ वर्गीकरण, अब दैनिक १५ सय तिरेर बस्न पाइने

  • रिता राउत
    रिता राउत
  • विहीबार, ०३ असार २०७८
क्वारेन्टाइन राख्ने होटलहरुको नयाँ वर्गीकरण, अब दैनिक १५ सय तिरेर बस्न पाइने

काठमाडौं । क्वारेन्टाइनका लागि होटल व्यवसायीहरूले आफ्नो होटलहरुलाई दुई श्रेणीमा वर्गीकरण गरेका छन् । यस अघि सरकारले ७८ वटा होटलहरुलाई मात्रै क्वारेन्टाइनकारुपमा सूचीकृत गरेकोमा अब भने एक तारे माथिका होटलहरुसमेत समेटेर यस्तो वर्गीकरण गरिएको हो ।   

होटल एसोसिएसन अफ नेपाल हानका अध्यक्ष सिर्जना राणाले होटल क्वारेन्टाइनका लागि दुई भागमा वर्गीकरण गरिएको  जानकारी दिएकी हुन् । उनले भनिन्, ‘दैनिक शुल्कअनुसार होटललाई दुई वर्गमा बाँडिएको छ । हामीले बजेट क्वारेन्टाइन होटल र स्ट्यान्डर्ड क्वारेन्टाइन होटल भनेर दुई वर्गमा छुट्याएका छौँ । यसमा एक तारेदेखि पाँच तारे होटलसम्म रहेका छन् ।’    

अध्यक्ष राणाका अनुसार बजेट क्वारेन्टाइन होटलमा बस्न चाहनेले दैनिक १५ सय रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै, स्ट्यान्डर्ड क्वारेन्टाइन होटलको भाडा भने तीन हजारदेखि माथि होटल आफैले स्तर अनुसार भाडा निर्धारण गर्नेछन् ।   

सरकारले तीन तारे माथिका मात्रै होटललाई क्वारेन्टाइन स्थलकारुपमा तोकेको त्यो व्यवहारिक नदेखिएपछि एसोसिएसनले यस्तो निर्णय गरेको हो । पछिल्लो निर्णय गर्नुबारे जानकारी दिँदै राणाले भनिन्, ‘कतिपय श्रमिकहरु विदेशमा काम नपाएर अलपत्र भएर घर फर्केका हुन्छन्, ती श्रमिकहरूका लागि भनेर नै हामीले होटल क्वारेन्टाइनलाई दुई वर्गमा छुट्याएका हौँ । अफ्ठेरोमा परेर घर फर्केका श्रमिकहरूले दैनिक १५ सय तिरेर क्वारेन्टाइन बस्न सक्छन् भने अन्यले आफूले चाहेको होटल रोजेर, आफूले चाहेको शुल्कमा बस्न सक्छन् ।’  

क्वारेन्टाइनका लागि उपलब्ध गराइने होटल कम्तीमा २० कोठाको हुनुपर्ने छ भने पर्यटन विभाग वा बागमती प्रदेश सरकारअन्तर्गत उपत्यका पर्यटन कार्यालयमा दर्ता भएको हुनुपर्ने अध्यक्ष राणाले जानकारी दिइन् । 

यता, सरकारले क्वारेन्टाइनका लागि छुटाएको होटलहरु मध्येकै केही होटल सञ्चालकहरूले भने आफै शुल्क निर्धारण गरेर विदेशबाट फर्केका मानिसहरूलाई राखिरहेका छन् । होटल श्रद्धा प्यालेसका सुजन खड्काले सरकारले तोकिदिएको भन्दा कम शुल्कमा विदेशबाट फर्कनेहरूलाई क्वारेनटाइनमा राखिरहेको स्विकारे । 

उनले भने, ‘होटल क्वारेन्टाइनका लागि सरकारले तोकेको शुल्क तीन हजार हो । तर, हामीले सिङ्गल रुममा प्रतिदिनको २ हजारका दरले राखिरहेका छौँ । र, श्रीमान श्रीमती वा विदेशमा सँगै काम गर्ने अनि सँगै बसेर फर्कनेहरूलाई भने डबल बेडरुममा दैनिक १५ सयका दरले राखिरहेका छौँ ।’  

सरकारले खाडी मुलुक र मलेसियाबाट फर्किएका श्रमिकहरूलाई पाँच दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वारेन्टिन अनिवार्य गरेको छ । 

यी हुन् क्वारेन्टिनस्थलको रूपमा प्रयोग गर्ने होटलको न्यूनतम मापदण्ड

सरकारले विदेशबाट फर्कनेहरूको लागि क्वारेनटाइनमा बस्न होटलहरुको सूची नै सार्वजनिक गरेको छ । विदेशबाट फर्कने यात्रुका लागि नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वारेनटाइन होटल तोकिएको हो । पर्यटन विभागले ७ वटा पाँचतारे, चार तारे ३ वटा, तीन तारे ७ वटा, २ वटा रिपोर्टसहित नयाँ होटल क्वारेन्टिनको सूची सार्वजनिक गरेको छ । 

क्वारेनटाइनका लागि प्रयोग गरिने होटल कम्तीमा २० कोठा भएको हुनपर्छ । जहाँ स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैँचा भएको हुनुपर्नेछ ।  

त्यस्तै, होटल क्वारेनटाइनमा रहेका हवाई यात्रुहरूलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना संकलनको लागि पर्याप्त खुला ठाउँ भएको हुनुपर्नेछ, कोठामा टिभी, वाईफाई, अट्याच ट्वाइलेट, नुहाउन तथा पिउने तातो पानी, साबुन पानी तथा सेनिटाइजरको व्यवस्था अनिवार्य हुनुपर्नेछ ।

त्यसैगरि, होटलले प्रदान गर्ने सेवाहरू सामूहिक रूपमा खाना खाने स्थल, ब्रुफे, जिम, साउना, इनडोर तथा आउटडोर गेम पूर्णरुपमा गरेको हुनुपर्ने, प्रत्येक कोठामा एक हप्ता पुग्नेगरि साबुन, टुथपेस्ट, ब्रस, हेण्डवास र टावेल राखिएको हुनुपर्ने, नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ मा तोकिएको क्षेत्रमा रहेको होटल हुनुपर्ने पर्यटन विभागले जनाएको छ ।  

होटल क्वारेन्टाइनको १० दिनको खर्च सरकारले दिने

वैदेशिक रोजगारीबाट फर्किएर होटल क्वारेन्टाइन बस्न नसक्ने श्रमिकलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेनटिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

असार २ गते बुधवार बसेको कोभिड–१९ संकट व्यवस्थापन निर्देशन समितिको बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वारेन्टाइन बस्न नसक्नेहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । समितिको बैठकले १५ दिन होटल क्वारेनटाइनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।  

केही मुलुकका लागि हवाई उडान खुल्ने 

सरकारले नेपाली श्रमिक अधिक सङ्ख्या रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेसियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सिसीएमसीको उक्त निर्णय मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले सिसीएमसीले सिफारिस गरेको निर्णय मन्त्रिपरिषद्ले पारित गरेपछि मन्त्रालयमा लिखितरूपमा आएर कार्यान्वयनमा जाने जानकारी दिए । 

जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतार, टर्की र चीनबाट सरकारले सातामा एक दिन उडान सञ्चालन गर्न स्वीकृति दिइसकेको छ ।    

यी हुन् क्वारेनटाइनका लागि प्रयोग गरिने ७८ होटल (सूचिसहित)

 

प्रतिक्रिया दिनुहोस