
ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिकाले यसअघिका केहि महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि ४३ बुँदे नीति तथा कार्यक्रम पारित गरेको छ । सिरीजङ्घाको सान, उद्यमशिल किसान, सिरीजङ्घाको गौरब कञ्चनजङ्घा, गाउँमै रोजगार, गर्भका आधार, एक घर एक धारा, निःशुल्क शिक्षा, हामी सबैको ईच्छा लगायतका दर्जनौँ कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।
बिहीबार आयोजित नवौँ गाउँसभाबाट उक्त नीति तथा कार्यक्रम र अनुमानित आयव्यय पारित भएको हो । आर्थिक वर्ष २०७८र७९ को चालु र पुँजीगत गरी रु ५० करोड ५७ लाख आयव्यय प्रस्तुत भएको छ । उपाध्यक्ष ज्ञानमाया चौहानद्वारा प्रस्तुत आयव्यय विवरणमा चालु खर्चतर्फ रु ६ करोड ७३ लाख ५० हजार, आर्थिक विकासतर्फ रु १ करोड ११ लाख, सामाजिक विकास तर्फ रु ३ करोड ७६ लाख, पुर्वाधार विकासतर्फ रु ९ करोड ९४ लाख ५० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ६० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु २० लाख, समपुरक कोषतर्फ रु एक करोड विनियोजन भएको उल्लेख छ ।
यस्तै नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान वापत रु २३ करोड २५ लाख रहेको छ । समपुरक अनुदान रु एक करोड ३१ लाख, विशेष अनुदान रु एक करोड ६६ लाख र प्रदेश सरकार मार्फत समपुरक अनुदान १ करोड रहेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षबाट एक जनालाई एमबीबीएस अध्ययनका लागि वार्षिक रु १३ लाख विनियोजन गरेको छ । कक्षा १० उत्तिर्ण हरेक वडाका एक÷एक जनालाई आवाससहित निःशुल्क रूपमा कृषि, पशु तथा प्राविधिक विषयको पठनपाठन गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ ।
यस्तै विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास शिक्षक र कार्यालय सहयोगी साथै विद्यालयका कर्मचारीका लागि मासिक १५ हजार तलबको ब्यवस्था भएको छ । गाउँपालिकाका प्रत्येक वडामा होस्टेल सुविधा सहितको माध्यामिक विद्यालय सञ्चालन गर्ने गरि स्तरोन्नती गरेर एक वडा, एक माविको अवधारणलाई समेत अघि सारिएको छ । यसैबीच जिरो होम डेलीभरी गाउँपालिका घोषणा गर्न एक वडा एक वर्थिङ सेन्टर स्थापना गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमै खेवाङ र मामांखेमा वर्थिङ सेन्टर स्थापना गरिने भएको छ ।
यता तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन तथा निकासीको सम्भावना बलियो बनाउने गरी यहाँका ५५० जना कृषकसँग लागत साझेदारी गरी टनेल खरीद तथा वितरण गर्ने कार्यक्रम अघि बढाइने छ । यस्तै हास्य कलाकार मनोज गजुरेललाई सिरीजङ्घाको छोरो उपमाले सम्मान गरिने भएक छ । वडा नम्बर ६ मामांखेमा जन्मिनुभएका गजुरेललाई गाउँपालिकाको सद्भावना पर्यटनदूत समेत नियुक्त गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस