
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २३ वटा जलविद्युत्सम्बन्धी कम्पनीसहित ५१ वटा कम्पनीलाई जोखिम सूचीमा राखेकै दिन मंगलबार विद्युत् विकास विभागले जलविद्युत् आयोजनाले विगत तीन वर्षमा गरेको आय विवरण सार्वजनिक गरेको छ । सेबोनले जोखिम सूचीमा राखेको कम्पनीबारे थप अध्ययन गरिरहेको भन्दै यस्ता कम्पनीको सेयर कारोबार गर्दा सतर्क रहन आग्रह गरेको छ ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७६र७७ मा जलविद्युत् आयोजनाहरूले कुल ३५ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेका छन् । अनुमतिपत्र लिएर सञ्चालनमा रहेका ९४ वटा विद्युत् आयोजनाले विगत तीन वर्षमा ऊर्जा बिक्रीबाट गरेको आय मंगलबार विभागले सार्वजनिक गरेको हो । यी आयोजनामध्ये ७५ वटा निजी क्षेत्रबाट प्रवर्द्धित हुन भने बाँकी १९ आयोजना नेपाल विद्युत् प्राधिकरण मातहतका हुन् । विभागका महानिर्देशक नवीनराज सिंहले भने बोर्डले जलविद्युत् कम्पनीलाई समेत जोखिम सूचीमा राखेर विज्ञप्ति निकाल्नु र विभागले आय विवरण एकै दिन सार्वजनिक गर्नु संयोग मात्रै भएको प्रतिक्रिया दिए ।
‘अहिले सबै साथीहरू खाली बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यस कारण तीन वर्षयताको आम्दानी विवरण तयार पारेर सार्वजनिक गरेका हौं ।’ आर्थिक वर्ष २०७५र७६ मा विद्युत् आयोजनाले कुल २७ अर्ब ५४ करोड आम्दानी गरेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७४र७५ मा विद्युत् आयोजनाले २५ अर्ब २ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेका थिए । बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा एक वर्षमा सेयर मूल्य ३ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको, मूल्य–आम्दानी अनुपात एक सय र सोभन्दा बढी भएको, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनको आधारमा जोखिमयुक्त सूचीमा राखिएको जनाइएको छ ।
बोर्डले जोखिम सूचीमा राखेको कम्पनीमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवागढी हाइड्रोपावर कम्पनी, सान्जेन जलविद्युत् आयोजनासहित सरकारी स्वामित्वको हाइड्रो इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सहित २३ वटा जलविद्युत् कम्पनी छन् ।
प्रतिक्रिया दिनुहोस