
काठमाडौँ। विश्व समुदायबाट पूर्णतया अलग थलग रहेको मुलुक उत्तर अहिले चरम खाद्य संकटसँग जुधिरहेको समाचार बिहीबार देखि चर्चामा छ। तर, दक्षिण कोरियाको जासुसी संस्था र विश्वका शक्ति राष्ट्र भने अहिले अर्कै कुरामा धेरै चासो राखिरहेका छन्। त्यो हो, उत्तर कोरियाली नेता किम जोङ्ग उन किन दुब्लाए भन्ने विषय।
के अनायास पातलो र दुब्लो देखिएका राष्ट्रपति किम आरामै छन् ? उनको स्वास्थ्य स्थिति ठिक त छ ? के उनी बिरामी हुन् ? वा, उनी आफ्नो स्वास्थ्य ठिक राख्न ट्रेड मिलमा कडा व्यायाम पो गरिरहेका छन् कि ? भन्ने ढङ्गले समाचारहरू त्यहाँ प्रकाशित भइरहेका छन्।
यसभन्दा पहिले नै आर्थिक संकटमा रहेको यो मुलुक कोरोनाभाइरसको कारण थप समस्यामा छ। भाइरसलाई रोक्न सीमामा थप कडाइ गर्दा चीनबाट नै सबै थोक आपूर्ति गर्दै आएको यो मुलुकमा खाद्यान्न अभाव गम्भीर चिन्ताको विषय बनेको छ। कि उनी मुलुक नै भताभुङ्ग हुने हो कि भन्ने चिन्ताले त दुब्लाएका होइनन् ? देशमा बढ्दो खाद्यान्न र आर्थिक सङ्कटबाट उत्पन्न तनाव पनि उनी दुब्लाउनुको कारण हुन सक्छ।
उत्तर कोरियाली नेता किम जोङ्ग उनको स्वास्थ्यको बारेमा फेरी एकपल्ट व्यापक चर्चा र अड्कलवाजी चलिरहेको छ। एसोसिएटेड प्रेसको रिपोर्टले उनलाई "ध्यान दिएर स्लिमर" बनेको भनेको छ। किम जोंग उन उनको स्वास्थ्यको बारेमा विश्व समुदायले अनेकौँ अनुमानहरू लगाइरहेका बेला हालै एक सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए।
उत्तर कोरियाको सरकारी मिडियाले किमका हालैका फोटोहरू सार्वजनिक गरेको हो। यी शक्तिशाली शासक एक महिनासम्म सार्वजनिक रूपमा देखा परेका थिएनन् । दक्षिण कोरियामा रहेको एनके न्युजले यस हप्ता प्रकाशित गरेको साइड-बाय साइड फोटो सेटको शृङ्खलामा उनको वजन घट्नुको सम्भावित कारण र यसको अर्थ के हो भन्ने विश्लेषण गर्दै लेखेको छ : "प्राय जसो कम गम्भीर अनलाइन टिप्पणीको विषय भए पनि किमको तौल र स्वास्थ्यलाई दक्षिण कोरियाको राष्ट्रिय खुफिया सेवा (एनआईएस) लगायतका विदेशी खुफिया एजेन्सीहरूले नजिकबाट हेरेका छन्।"
उता एसोसिएटेड प्रेसले उही समयमा प्रश्न गरेको छ : के उनले कडा व्यायाम गरेका हुन् ? के अब उनी केहिसमय कडा परिश्रम गर्दा पनि सहज सास फेर्न सक्ने भएका हुन् ? किन उनी राज्यको वार्षिकोत्सव जस्तो त्यो महत्त्वपूर्ण कार्यक्रममा सहभागी नभएका हुन् ?
यी ३७ वर्षीय नेता स्वास्थ्यको कारण सधैँ चर्चाको केन्द्रमा रहने गरेका छन्। केही वर्ष अघि उनको मृत्यु नै भएको भन्ने हल्ला समेत केही सातासम्म चलेको थियो।
हालै यो कुरा पुष्टि भयो कि त्यहाँ उसको खाद्यान्न संकट आउँदै छ। सीएनएनले बिहीबार यस्तो विवरण सार्वजनिक गर्यो : उत्तर कोरियाका नेता किम जोंग उनले आफ्नो देशलाई खाद्यान्नको अभावको सामना गर्नुपर्यो भनेर स्वीकार गरेका छन् जसका लागी उनले गत वर्षको आँधी र बाढीलाई दोषारोपण गरेका थिए। उनले उत्तर कोरियालीहरूलाई सम्भावित संकटको बारेमा चेतावनी दिएका हुन्।
कोरियाली वर्कर्स पार्टीको पूर्ण बैठकमा किमले देशले "तनावपूर्ण खाद्यान्न अवस्थाको अनुभव गरिरहेको छ" भनेको कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले बुधवार रिपोर्ट गरेको थियो।
प्रतिक्रिया दिनुहोस