
विश्वमा हुने गरेका धेरै घटनाहरूले सुनको मूल्य उच्च उतार चढाव ल्याउने गर्छन्। निरन्तर मुद्रास्फीति र सम्भावित बजेट घाटाले अमेरिकी डलरलाई कमजोर पार्दा त्यसको प्रत्यक्ष प्रभाव सुनको मूल्यमा समेत देखिएको छ। तर, अहिले त्यही सुन नै अमेरिकी डलरको अवसान र चिनियाँ मुद्राको प्रभावशाली उपस्थितिको लागी सर्वाधिक बलियो हतियारका रूपमा प्रयोग हुँदैछ।
यो लेखमा भने हाल अमेरिकाले चीनको विरुद्ध चालेका कडा आर्थिक नीतिका कारण उत्पन्न द्वन्द्व सुनले कस्तो भूमिका खेल्दैछ भन्ने चर्चा गरिएको छ।
सुनको बलमा अमेरिकालाई पछार्ने चिनियाँ योजना
चीन तीव्र आर्थिक विकास सहित अगाडि बढिरहेको छ। उसले आफ्नै मध्यम वर्गलाई विस्तार गर्दै बलियो युआनबाट फाइदा पुर्याईरहेको छ। जसरी जर्मन र जापानले सन् १९७० देखि २००० सम्ममा आफ्नो अर्थतन्त्रलाई बलियो बनाए त्यो चीनले अहिले गरेको छ। हालसम्म आर्थिक विकासमा राम्रो फड्को मारेका कारण निर्यात व्यापारको महत्त्व समेत चीनको लागि कम हुँदै गइरहेको छ। यो निर्भरता कम हुँदै जाँदा चीनले आफूसँग भएको सुनको वास्तविक स्थिति खुलासा गर्दै अमेरिकी डलर विरुद्ध अन्तिम धक्का (कूप डे ग्रेस) हान्ने तयारीमा छ।
चीनको अघोषित सुन भण्डारमा कम्तीमा पनि २० हजार टन सुन भौतिक मौज्जाद छ भन्ने विश्वास गरिन्छ। चीनको लागि ऊसँग रहेको सुनको स्थिति खुल्लमखुल्ला घोषणा गर्न केही गाह्रो भने पक्कै छ। किनकि अमेरिकाले अहिले चीनको विरुद्ध जारी आर्थिक युद्धमा आफू कमजोर ठहरिए भौतिक (आवश्यक परे आणविकसमेत) युद्धको विकल्पसम्म जान सक्छ।
अहिले चीनको अर्थतन्त्र प्रमुख पश्चिमी अर्थव्यवस्था भन्दा फरक स्थितिमा छ। गत वर्षको भन्दा अमेरिकी डलरको तुलनामा चीनको युआन १० प्रतिशतले बलियो भएको छ र यो बढ्ने क्रममा छ। तर, चीनले आफ्नो मुद्राको मूल्य स्थिर राख्न प्रयास गरिरहेको छ। त्यसैले झट्ट सुन्दा अचम्म लाग्ने गरी चिनियाँहरूले पश्चिम बजारलाई वित्तीय बजार सम्बन्धी फोकाहरू सम्हाल्न र दुर्घटनाबाट बचाउन चेतावनी दिइरहेका छन्।
आर्थिक युद्धमा 'सुन त्सु दर्शन' को प्रयोग
चीनले अमेरिकासँगको आर्थिक द्वन्द्वको सन्दर्भमा गर्दै आएको बयान चाखलाग्दो छ। आफ्नो नरम नीति र अमेरिकाको माग बमोजिमका प्रतिबद्धता गर्दै उसले अहिलेसम्म आफूलाई आर्थिक रूपमा अस्थिर पार्नका लागि अमेरिकाले गरेका सबै प्रयासहरूबाट बचाएको छ। यो सफलताका लागि 'बतासको लहरसँगै बहनुपर्छ' भन्ने आफ्ना पूर्वज दार्शनिक तथा युद्ध रणनीतिकार सुन त्सु युक्तिलाई सफलतापूर्वक व्यवहारमा उतारेको छ।
तर, चीनले के पनि बिर्सेको छैन भने 'युद्धको सर्वोच्च कला भनेको लडाई नगरी शत्रुलाई वशमा गर्नु हो' भन्ने सुन त्सुले यो पनि चेतावनी दिएका छन् कि 'लामो समयसम्म भएको युद्धबाट कुनै देशले फाइदा लिएको त्यस्तो कुनै इतिहास छैन।' त्यसैले कुनै पनि उपयुक्त समयमा चीनले अमेरिकासँगको व्यापार युद्धलाई अन्त्य गर्ने गरी आक्रामक नीति अवलम्बन गर्ने छ।
यसबाहेक, चीनले के पनि राम्ररी बुझिसकेको छ भने अब उसको अर्थव्यवस्था चलाउन अमेरिकामा हुने निर्यातबाट आउने बचतमा निर्भर रहनु भनेको सम्भावित दुर्घटनालाई कायमै राख्नु हो। हाल अमेरिकासँग भइरहेको व्यापार उसका लागि सङ्क्रमणकालीन व्यापार मात्र हो। राष्ट्रपति ट्रम्पको पालामा आएजस्ता व्यवधान जुनसुकै बेला आउन सक्छ भन्नेमा चीन जानकार छ।
डलर डुबाउने, युआन उठाउने नीति
दीर्घकालीन सोचहरू र नियमित पञ्चवर्षीय योजनाहरूको साथ चिनियाँहरूले निरन्तर आत्मनिर्भरताको उद्देश्य देखाएका छन्। सस्तो निर्यातको निर्माणको आधारमा सङ्क्रमणकालीन अवधिपछि उसले ठुलो पूर्वाधार र प्राविधिक विकासको साथ उपभोक्तामा आधारित एक ठुलो गैर-कृषि मध्यम वर्गको विकास गर्ने योजना बनाएको छ। अब युद्धकारी अमेरिकासँगको व्यापारमा निर्भर हुनुको सट्टा चीनले व्यापार साझेदारहरूका रूपमा युरेसिया भू-समूहका देशहरूलाई रोज्दैछ।
अमेरिकाको गलत आर्थिक नीतिका कारण अब यसको मुद्रा डलरले सम्भवतः क्रय शक्ति गुमाउने छ र विश्वव्यापी मुद्राको रूपमा यसको विश्वसनीयतालाई कमजोर पार्दैछ भन्ने चिनियाँहरूले सही अनुमान लगाए। यो क्षणको प्रतीक्षामा चिनियाँहरू लामो समयदेखि थिए। यसरी डलर कमजोर हुँदा चिनियाँ मुद्रा युआन स्वाभाविक रूपमा बढ्थ्यो। तर, सही समयमा नै उनीहरूले युआनलाई नियन्त्रणमा राखे र अमेरिकासँगको आफ्नो बचतलाई अझ सुदृढ गरे।
त्यसो त डलरमा आउने मुद्रास्फीतिबाट चीनले के चाहिरहेको छ भन्ने समग्रमा पश्चिमी विश्लेषकहरूले बुझ्न असफल सकेनन्। तर चीनलाई के थाहा थियो भने अमेरिकाले आफ्नो कमजोर डलरलाई चीनको पछिल्तिर पुर्याउँदा भू-राजनीतिक तनाव बढ्नेछ। युआन सम्पूर्ण एसिया, मध्य पूर्व र अफ्रिकाका लागि रुचिको व्यापार मुद्रा बन्न पुग्छ। त्यो समयमा आफ्नो मुद्राको विश्वसनीयता बढाउन सुनको मौजाद आवश्यक हुन्छ भन्ने बुझेर नै चीनले सन् १९८३ देखि २००२ सम्म ठुलो मात्रामा सुन खरिद गरेको थियो।
सुन थुपार्ने दूरगामी सोच
चीनले पीपुल्स बैंकलाई सन् १९८३ देखी २००२ को बिचमा राज्यको तर्फबाट सुन र चाँदी किन्न प्रेरित गर्यो। त्यसपछि राज्यले टिभीमा विज्ञापन अभियान चलायो र मानिसहरूलाई सुन किन्न उत्साहित गर्यो। त्यसैबिच राज्यले सुन खानीमा यति धेरै लगानी गर्यो कि अहिले चीन सबैभन्दा बढी सुन उत्खनन गर्ने देश बनेको छ।
सन् १९८३ सम्ममा मा विश्वमा जम्मा ९२ हजार टन सुन उत्खनन भएको थियो। त्यो बेला गहना लगायतमा त्यसको लगभग ६० प्रतिशत अर्थात् ५० हजार ६०० टन प्रयोगमा थियो। त्यसबाहेक ३५ हजार ६४० टन विभिन्न मुलुकले मुद्राको ग्यारेन्टीको रूपमा रिजर्भमा राखेका थिए। यसरी हेर्दा त्यो बेला बजारमा किन्न मिल्ने अवस्थामा जम्मा ५ हजार ७६० टन मात्र सुन थियो।
जब चीनले सुन किन्ने नीति अपनायो त्यो बेला रहेको यो सुन खरिदमा छिन आक्रामक बन्दा पश्चिमी बजारमा भौतिक सुनको अभाव नै भएको थियो। सन् १९८३ देखि २००३ सम्ममा थप ४२ हजार ४६० टन सुन उत्खनन बाट थपिएकोमा १३ हजार त केन्द्रीय बैंकले राखे। बाँकी ३ हजार ७६ टन मुद्राको रूपमा बिक्री हुँदा बाहिर बजारमा २६ हजार ३४१ टन रह्यो।
यसरी सन् २००३ सम्म आइपुग्दा १९८३ सम्मको ५ हजार ७६० र त्यसयताको १९ वर्षको २६ हजार ३४१ टन सुन गर्दा बजारमा खरिद बिक्री गर्न मिल्ने काँचो सुन जम्मा ३२ हजार १०१ टन थियो। त्यस बिच भारतले ८ हजार ४६७ टन खरिद गर्यो भने बाँकी ठुलो हिस्सा चीनले किनेर राख्यो।
त्यो बेलासम्ममा चीनले कति सुन किन्यो भन्नेबारे केही भन्न सकिँदैन किनकि यो उनीहरूले गोप्य राखे र सुटुक्क नै खरिद गरे। तर, जब २००३ देखि आफ्ना नागरिकलाई सुन किन्न लगाएको प्रतिबन्ध फुकुवा मात्र गरेनन् बरु टेलिभिजनबाट विज्ञापन बजाएरै सुन किन्न प्रेरित गरे। यसको मतलब देशमा जति सकिन्छ धेरै सुन भित्राउने नीतिमा चिनियाँ नीतिकारले कुनै कसर बाँकी राखेनन्।
व्यापार युद्धको 'एटम बम': सुन
यसले के देखाउँछ भने चीनले आजको दिनको अनुमान धेरै अघि नै लगाएको थियो र सुन किनेर राख्यो। धेरै भन्दा धेरै सुन उत्खनन गर्यो र आफ्नो मुद्रा प्रतिको विश्वास सारा विश्वलाई देखाउन पर्याप्त हुने गरी तयारी गरेर बस्यो। उसले के बुझेको छ भने डलरमा आधारित विश्व व्यापार प्रणालीलाई चुनौती दिने गरी आफ्नो मुद्रालाई बलियो पार्ने धातु सुन नै हो।
यसरी सुनले अहिले जारी चीन र अमेरिका बिचको आर्थिक युद्धमा महत्त्वपूर्ण भूमिका निभाउने छ। सम्भावित सबै कुराको आङ्कलन गरेका चिनियाँहरूको लागि सुनको भण्डारले सर्वाधिक बलियो हतियारको रूपमा भूमिका निभाउने देखिन्छ।
बढ्दो सुनको मूल्यको अर्को पक्ष भनेको लागि क्रय शक्तिमा गिरावट हो। यो सुनमा सीमित हुन सम्भव छैन। यसको कारण अन्तर्राष्ट्रिय रूपमा रहेको ३० खर्व डलरको निक्षेप र मौज्जाद के हुन्छ भन्ने प्रश्न उठ्छ। त्यति मात्र होइन अबका दिनमा सुन र डलरको विनिमय दर कस्तो रहला भन्ने पनि अर्को प्रश्न छ।
प्रतिक्रिया दिनुहोस